विराटनगर, २५ भदौ |

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्या साधान गर्न नयाँ ढङ्गले काम गर्न थालेको बताउनुभएको छ । समाजवादी मोर्चा नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित ‘प्रदेशस्तरीय सन्देशसभा’ को उद्घाटन गर्दै उहाँले जनताका समस्यालाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्री कार्यालयबाट ‘हेलो सरकार’ कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो ।हेलो सरकार कार्यक्रमबाट जनताका समस्या समाधान हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सरकार सामाजिक न्याय र सामाजिक सुरक्षाका विषयमा गम्भीर भएर लागेको बताउनुभयो । सामाजिक सुरक्षा कोषमा हाल तीन लाख ५० हजार वैदेशिक रोजगारमा रहेका युवा आबद्ध भइसकेको र निकट भविष्यमै ४० देखि ५० लाख वैदेशिक रोजगारमा रहेका युवा आबद्ध हुने जानकारी दिँदै सरकार सामाजिक न्यायका लागि निरन्तर काम लागिरहेको छ ।

मिटर ब्याजीजस्ता नागरिकताका समस्या समाधान गर्न सरकार निरन्तर लागि परेको प्रधानमन्त्री दाहालको भनाइ छ । सरकारले वेथिति, विकृति र भ्रष्टाचारको क्षेत्रमा निडरताका साथ काम गरिहेको बताउँदै सन्देशसभाले सरकारलाई नयाँ शक्ति प्राप्त गर्न मद्दत गरेको छ ।” जनताका समस्या र टिप्पणी सुन्नलाई हेलो सरकार २४ घण्टै खुला रहेको बताउँदै प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो ।प्रधानमन्त्री दाहालले भारत भ्रमणमा जाँदा नेपालको हितमा धेरै काम भएको भन्दै सरकार विगतको भन्दा फरक ढङ्गले काम गरिरहेको चर्चा गर्नुभयो । उहाँले छिमेकी राष्ट्र चीनसँगको व्यापार घाटा कम गराउन कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने भन्दै संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा जाँदा सेतो हिमाल कालो भइरहेको र यसबाट विश्व समुदायलाई जलवायु परिवर्तन गम्भीर असर परिरहेको भनि जानकारी गराउने बताउनुभयो । प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियालाई अन्तिम रुप दिन लागेको जानकारी दिँदै सो विषय महत्त्वपूर्ण र दूरगामी रहेको धारणा राख्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधामन्त्री माधवकुमार नेपालले मोर्चाले समाजमा निराशा होइन आशाको सञ्चार गर्न खोजेको बताउनुभयो । उहाँले समाजमा रहेका नकारात्मक गतिविधिलाई हटाइ सकारात्मक बनाउने भन्दै मोर्चाले गौरवशाली समाजवादको सन्देश दिइरहेको कुरामा जोड दिनुभयो ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगत १६ वर्षमा १३ पटक सरकार परिवर्तनको खेलले मुलुकमा सङ्घीयता र लोकतन्त्र संस्थागत हुन नसकेको भन्दै संविधान प्रदत्त अधिकार प्रदेश सरकारले प्राप्त गर्न नसकेको टिप्पणी गर्नुभयो । समानता र विभेदको आक्रोश जनतामा बढ्न थालेकाले सरकारलाई गम्भीर भएर काम गर्न सुझाव दिँदै उहाँले राजनीतिक स्थिरता नहुँदा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा पनि नकारात्मक असर परेको उल्लेख गर्नुभयो ।नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विपल्व’ ले नेपालको स्वाधीतनता र समृद्धिलाई बलियो बनाउन मोर्चा गठन भएको भन्दै देश र जनतालाई समस्या परेका बेलमा मोओवादी एकजुट हुने धारणा राख्नुभयो । मोर्चामा आबद्ध नेता बलदेव चौधरी, प्रवेश हमाल र रकम चेम्जोङले पनि मोर्चाको उपादेयतामाथि प्रकाश पार्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here