काठमाडौँ, २१ भदौ |

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले स्वदेशमै रोजगार वृद्धि र सीप विकास तालिमका लागि नेपाल सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले नेपालको संविधानमा रहेको रोजगारीको हकको कार्यान्वयनका लागि सरकार क्रियाशील रहेको स्पष्ट गर्नुभएको हो । उहाँले सूचीकृत बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिइएको जानकारी दिँदै मुलुकमा आर्थिक गतिविधि सहज भएको स्थितिमा स्वदेशमै रोजगारी वृद्धि हुने बताउनुभयो ।मन्त्री भण्डारीलाई पूरक प्रश्न गर्दै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले रोजगारी सिर्जना हुने केही सरकारी निकायका सार्वजनिक संस्थालाई बेचिएकाले बेरोजगारी बढेको होइन र भन्ने जिज्ञासा राख्नुभयो । जवाफमा मन्त्री भण्डारीले सात सय ५३ वटै पालिकामा रोजगार सेवा केन्द्र स्थापना भएकाले त्यहाँ कस्ता खालका बेरोजगारी छन् र कस्ता सीप तालिम आवश्यक छन् भन्ने विषयमा सूचना प्रविधिको प्रयोगसहित सरकारले आवश्यक गृहकार्य गरिरहेको स्पष्ट गर्नुभयो ।उहाँले सातै प्रदेशमा रहेका तालिम केन्द्रलाई प्रतिष्ठानका रूपमा स्थापित गरी युवाहरूलाई सीप विकास गरिने जनाउनुभयो । उहाँले व्यवसायीले वैदेशिक रोजगारीका क्षेत्रमा गर्ने ठगीलाई नियन्त्रण र नियमन गर्न सरकारले उचित ध्यान दिइरहेको स्पष्ट गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here