काठमाडौँ, १९ भदौ |
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोलार जडानलगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग रु दुई लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको बर्दिबासबाट खटिएको टोलीले गत साउन ३१ गते उनलाई पक्राउ गरेको थियो ।आयोगको टोलीले यादवसँग थप रु तीन लाख बराबरको चेक समेत बरामद गरेको थियो । सो घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव, लेखापाल यादव र एमआई एस अपरेटर वीरेन्द्रकुमार यादवको मिलेमतो रहेको पाइएको आयोगको आरोप छ । तीनै जनालाई रु पाँच लाख बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।







