लुम्बिनी, १९ भदौ |
व्रतालु महिलाहरुले घाँसे कुशको पातमा गाँठो पारी पूजापाठ गर्दै छोराको दीर्घायु र स्वास्थ्य लाभको कामनासहित यो पर्व मनाइरहेका छन् । यस पर्वलाई ‘हरछठ’ वा ‘ललहीछठ’ पनि भन्ने गरिन्छ । यो पर्व प्रत्येक वर्षको भाद्र कृष्णपक्ष ‘षष्ठी’ तिथिका दिन मनाइने गरिन्छ । यो दिन गाउँटोलका व्रतालुहरू एकै ठाउँमा भेला जम्मा भई घाँसे कुशमा गाँठो पारी पूजा आराधना गर्ने गर्छन् ।हिन्दू धार्मिक परम्पराअनुसार दिनभरि निराजल व्रत बसी छोराको जीवनरक्षा तथा दीर्घायुको कामना गर्दै पलासको पात, र महुवाको पातसहित कहिल्यै नजोतेको खेतमा उब्जेको तिन्नी चामल, महुवा र दही राखी पूजापाठ गर्ने गरिन्छ । यो व्रत आमाले छोराको सुस्वास्थ्य र दीर्घायुका लागि बस्ने गर्छिन् । व्रतालुहरु महिलाहरू दिनभरि निराजल व्रत बस्ने र तीनछठ्ठी माताको महिमा सहितका गीतहरू गाउने तथा तीनछठ्ठी मातासँग सम्बन्धित कथाहरू भन्ने र सुन्ने गर्दछिन् ।व्रतका समयमा प्रशोधित सामग्री प्रयोग नभएका प्राकृतिक फलफूल र पकवानहरु दही, महुवा, साग र तिन्नीको चामलको भात लगायतका सामग्री र फलफूल प्रसादका रुपमा ग्रहण गर्ने चलन छ । यो व्रतमा महुवाको दातुनले दाँत सफा गरिन्छ ।यसै तिथिमा भगवान् श्रीकृष्णका दाजु बलरामको जन्मोत्सव पनि मनाउने परम्परा रहेकाले खेतमा उब्जिएको वा हलो जोतेर उब्जाएको कुनै पनि खाद्यान्न खानु हुँदैन भन्ने मान्यता छ । हलो कृष्णका दाजु बलरामको अस्त्र भएकाले त्यसो गरिने गरेको पण्डित अजयकुमार मिश्रको भनाइ छ ।








