चितवन, १८ भदौ |

जिल्लामा रहेका सात सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन भइरहेका छन् । ती विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीमा आकर्षण बढ्न नसकेको हो । शिक्षा विभागले सञ्चालन गरेको प्राविधिक शिक्षा कक्षा ९ देखि १२ सम्म अध्ययन हुने गरेको छ । भरतपुर महानगरपालिका–२५ मा रहेको प्रभात माध्यमिक विद्यालयमा अहिले सिभिल इन्जिनियरिङको पढाइ हुँदै आएको छ । विद्यालयका प्रधानाध्यापक होमनाथ भण्डारीले प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्न नसकेको बताउनुभयो ।विसं २०७३ बाट प्राविधिक शिक्षा अध्ययन गराउन सुरु गरेको यस विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण जगाउन नसकिएको उहाँले बताउनुभयोे । उहाँका अनुसार पहिलो वर्ष तोकिएको कोटा ४८ जनानै भर्ना भएका थिए । त्यसपछिका वर्षहरुमा क्रमशः सङ्ख्या घट्दै आएर यस वर्ष ३२ जना मात्रै भर्ना भएको उहाँले बताउनुभयो । कक्षा ८ उत्तीर्ण गरेपछि कक्षा ९ मा सिभिल इन्जिनियरिङ पढाइ हुन्छ । उनीहरुले कक्षा १२ उत्तीर्ण गर्दै गर्दा सवइन्जिनियर हुन्छन् ।प्राविधिकतर्फ विसं २०७४ बाट कृषि शिक्षा अध्ययन गराउँदै आएको भरतपुर महानगरपालिका–२० को भीमनगर माध्यमिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण कम भएको छ । विद्यालयका सहायक प्रधानाध्यापक सविन न्यौपानेका अनुसार एसइईसम्म विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गरे पनि पछि धार परिवर्तन गर्ने गरेको बताउनुहुन्छ । कक्षा ९ मा भर्ना हुने विद्यार्थीको सङ्ख्या अनुपातमा कक्षा १२ सम्ममा पुग्दा आधाआधी मात्रै रहने गरेको उहाँको भनाइ छ ।कक्षा ९ मा कोटाअनुसार भर्ना भए पनि कक्षा १२ सम्म पुग्दा आठ जना मात्र भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले कक्षा ९ मा ४५ जना भर्ना भएका छन् भने कक्षा १० मा ३४ , कक्षा ११ मा १५ र कक्षा १२ मा आठ जना भर्ना भएका छन् । सुरुआती वर्ष १५ विद्यार्थी भर्ना भएका थिए । माडी माध्यमिक विद्यालय माडीमा अहिले पशु विज्ञानअन्तर्गतको प्राविधिक शिक्षा अध्ययन भइरहेको छ । जहाँ पहिलेको तुलनामा अहिले विद्यार्थीको सङ्ख्यात्मक चाप नभएको पाइएको छ । विद्यालयका प्रधानाध्यापक भूपेन्द्रप्रसाद पौडेलका अनुसार सुरुआती समयमा जस्तो चाप नभए पनि विद्यार्थीका आकर्षण विस्तारै घट्न थालेको छ । विसं २०७३ बाट अध्ययन सुरु गरेको यस विद्यालय सुरुआती दुई वर्ष कोटाअनुसारको विद्यार्थी भर्ना भएको भए पनि पछिल्ला वर्ष घट्दै गएर अहिले २९ विद्यार्थी भर्ना भएको उहाँले बताउनुभयो ।शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार नेपाल मावि रत्ननगरमा वाली विज्ञान, बुद्धशान्ति मावि राप्तीमा पशु विज्ञान, त्रिवेणी बराह मावि इच्छाकामना गाउँपालिकामा कम्युटर इन्जिनियरिङ शिक्षा अध्यापन भइरहेको छ । एकाइका प्रमुख भूमिलाल सुवेदीले कक्षा १० सम्म पढ्ने विद्यार्थी भए पनि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थी सङ्ख्या न्यून रहेको बताउनुभयो । कोटाअनुसार विद्यार्थी भर्नामा केही विद्यालयमा प्रवेश परीक्षासमेत लिने गरेको भए पनि सबै विद्यार्थी कक्षा १२ सम्म नपुग्ने गरेको उहाँको भनाइ छ । शिक्षा विभागबाट चितवनमा पहिलो पटक विसं २०६९ मा प्राविधिक शिक्षा कक्षा ९ देखि लागू गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here