नेपालगञ्ज, ८ भदौ |

बाँके र बर्दियाका केही स्थानीय तहमा रहेका हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगञ्जले करिब तीन महिनाअघि गरेको खानेपानी परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका असिटेन्ट केमिष्ट गोपाल रेग्मीले जानकारी दिनुभयो । खास गरी बाँकेको डुडुवा गाउँपालिका तथा बर्दियाका राजापुर, मधुवन र गेरुवा गाउँपालिकामा हाते पम्पबाट आउने खानेपानीमा फाटफुट मात्रामा आर्सेनिक देखिएको हो ।पानी प्रयोगशालाका अनुसार बाँकेका केही स्थानमा खानेपानीमा क्याल्सियमको मात्रा पनि बढी देखिएको छ । खानेपानीमा चुनको मात्रा बढी हुनेलाई क्याल्सियम धेरै भएको मानिएको छ । चुनको मात्रा बढी हुँदा खानेपानीको पाइप जाम भएको समेत बताइएको छ । बाँकेको कोहलपुरमा सो समस्या देखिएको रेग्मीले जानकारी दिनुभयो । पानी परीक्षणका क्रममा खानेपानीमा कोलिफर्मको मात्रा पनि देखिएको प्रयोगशालाले जनाएको छ । केही नमूनामा त्यस्तो देखिएको उहाँले बताउनुभयो । “शौचालय, गाई गोठ नजिक हाते पम्पबाट आउने खानपानीमा त्यस्तो कोलिफर्म देखिन सक्छ”, उहाँले भन्नुभयो ।

खानेपानी प्रयोगशालाले फिल्डमा गएर र कार्यालयमा आएका खानेपानीका नमूना हेरेर लुम्बिनी प्रदेशबाहेक हुम्ला, जुम्ला र डोल्पा, जाजरकोटको पानी पनि परीक्षण गर्दै आएको छ । नेपाली सेना, नेपाल प्रहरी, खानेपानीका उपभोक्ता समिति, गैरसरकारी संस्थाले कार्यालयमा ल्याएको खानेपानीसमेत परीक्षण हुने गरेको रेग्मीको भनाइ छ ।राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ का अनुसार शुद्ध खानेपानीमा सबै नागरिकको हक रहेको छ । खानेपानी प्रयोगशालामा करिब पाँच सय हाराहारीमा भएको खानेपानीको परीक्षणबाट रु चार लाख ७५ हजार राजस्व सङ्कलन भएको प्रयोगशालाका केमिष्ट रविकिरण आर्चायले जानकारी दिनुभयो ।उहाँले खानेपानीको विभिन्न प्यारामिटर परीक्षण हुने उल्लेख गर्दै खानेपानीको अमिलो वा टर्रोपना, विद्युतीय सम्वाहक, पानीको घुलित अवस्था, अमोनिया लगायतका विषयको परीक्षण हुने जानकारी दिनुभयो । “खानेपानीमा धमिलो पानी आए फिल्टर गरेर खान सुझाव दिएका छौँ”, उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here