फुङ्लिङ (ताप्लेजुङ), ३ भदौ |

दुर्गम क्षेत्रमा मोबाइल र फोरजीमार्फत इन्टरनेट सञ्चालन भएसँगै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा सञ्चार पहुँच पुगेको छ । फक्ताङलुङ –६ लोवाडाँडामा नेपाल टेलिकमको फोरजी टावरमार्फत सेवा सञ्चालन भएपछि फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चारको क्षेत्रमा अर्को फड्को मारेको हो ।फोरजी सेवा सञ्चालनमा आएसँगै लेलेपको साँगु, बतासे, मादिबुङ, फेम्बु, लेलेप, लुङथुङ, सेकाथुम लावाजिन, किसोङ्मा, अम्जीलेसा र तापेथोकको हेल्लोक, यासाङ, सोत्लिमा, तापेथोक र इखाबुको केही क्षेत्रमा सुविधा पुगेको छ । फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूका अनुसार यस सेवामार्फत फक्ताङलुुङ गाउँपालिकाका करिब तीन हजार जनसङ्ख्या प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।यसबाट स्थानीय समुदायमात्रै नभएर कञ्चनजङ्घा क्षेत्रमा आउने हजारौँ पर्यटकलाई पनि सेवा पुग्ने र विभिन्न सरकारी तथा गैरसरकारी निकायले दिने सेवामा पनि इन्टरनेट उपयोग गरी सहजता हुने फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूको सचिालयमार्फत जानकारी गराउनुभएको छ ।भौगोलिक हिसाबले नेपालकै तेस्रो ठूलो गाउँपालिकाका रूपमा रहेको फक्ताङलुङका भौगोलिकरूपमा दुर्गम भएको र मानवबस्ती र जनसङ्ख्याको पहुँचका कारण सञ्चार क्षेत्र विस्तार गर्दा खासै फाइदा नहुने भएकाले विगतदेखि नै सञ्चार क्षेत्रका लगानीकर्ता यस क्षेत्रमा मोबाइल नेटवर्क विस्तार गर्न आनाकानी गर्दै आएका थिए । विसं २०७४ मा फक्ताङलुङको लेलेपस्थित मुरिङ्लाडाँडामा नेपाल टेलिकमको टुजी सेवा विस्तार भएपछि मात्र यस क्षेत्रमा मोबाइल सेवा विस्तार भएको थियो । तर त्यस सेवा प्रभावकारी नभएको गुनासो बारम्बार आएको थियो ।

फक्ताङलुङको तल्लो भेग वडा नं १, २, ३, ४ का सावादिन, खेजेनिम, लिङ्खिम र इखाबुका अधिकांश भेगमा विगतदेखि नै टेलिकम र एनसेलको फोरजीसहितको सेवा विस्तार भइसकेका छन् । उता बाँकी वडा नं ५, ६ र ७ का क्रमशः तापेथोक, लेलेप र ओलाङ्चुङगोला क्षेत्र सञ्चारबाट पछाडि पर्दै आएको थियो । फक्ताङलुङ–६ को घुन्सामा र ओलाङ्चुङगोला बस्ती आसपासलाई लक्षित गरी नेपाल टेलिकमको टुजी सेवा विस्तार भएको थियो ।सामग्री ढुवानीदेखि लिएर यसको जडानका लागि सम्बन्धित निकायमा पहलकदमी गरेर मात्रै यो सम्भव भएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष लिम्बूले बताउनुभयो । आफू स्वयं सेकाथुमबाट लोवाडाँडासम्म सामान ढुवानी गर्नका लागि खटिएको उहाँले जानकारी दिनुभयोे ।अध्यक्ष लिम्बूका अनुसार अब सोही पालिकाको वडा नं ७ हिलेखर्कमा ओलाङ्चुङगोलाको लागि फोरजी टावर राख्नका लागि सर्भेको काम सकिएको छ भने घुन्सातर्फ पनि टावर राख्नका लागि पहिलो चरणको सर्भे सकिएको बताउनुभयो । उहाँका अनुसार सो स्थानबाट पनि अबको एक वर्षमा फोरजी सेवा सञ्चालनमा ल्याइने छ । यस क्षेत्रका बासिन्दाले इन्टरनेटको सेवा उपयोग गर्न पाएका थिएनन् । आजको समय इन्टरनेटको समय हो । विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न र खबर आदान–प्रदान गर्न पनि इन्टरनेट अनिवार्यजस्तै भएको छ । इन्टरनेट सेवाबाट यस क्षेत्रका बासिन्दा बञ्चित हुँदै आएकामा अहिले फक्ताङलुङ–६, लुङथुङका मिङ्मा शेर्पाले विदेशमा रहेको छोरीसँग परिवारै बसेर भिडियो कलमा बोल्न पाउँदा मनै प्रफुल्ल भएको बताउनुभयो । अहिले फोरजी सेवाले यहाँका बासिन्दालाई विश्वसँग जोडिदिएको छ । यस क्षेत्रका लागि यो सूचना तथा सञ्चारको क्षेत्रमा नयाँ फड्कोका रूपमा लिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here