जलेश्वर, २६ साउन (रासस) |
महोत्तरीको बर्दिबास नगरपालिकाको छुट्टाछुट्टै स्थानमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिपले ठक्कर दिँदा दुई पैदलयात्रुको मृत्यु भएको हो । गए राति बिपी राजमार्गअन्तर्गत बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको प्र०१–०२६च ५६४३ नंको जिपले बर्दिबास–३ गुञ्ज होटल अगाडि बाटो काट्दै गरेका बर्दिबास–३ गौरीबासका ७२ वर्षीय रामबाबु मोक्तानलाई ठक्कर दिएको थियो । उनको जनसेवा अस्पताल बर्दिबासमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।यस्तै पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बर्दिबास–४ स्थित भब्सीपुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ७१५३ नंको जिपले बाटो काट्दै गरेका पैदलयात्री महोत्तरी गाउँपालिका–६ गोनरपुराका ५९ वर्षीय जगदीश साहलाई ठक्कर दिएको थियो । गम्भीर घाइते उनको बर्दिबास सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।







