काठमाडौं,२५,साउन (रासस) ।

इक्वेडरको राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको गोली हानेर हत्या भएको छ । इक्वेडरका सांसद समेत रहेका फर्नान्डो भिल्लाभिसेन्सिओको उत्तरी सहर क्विटोमा गोली हानेर हत्या भएको हो ।बुधबार आफ्नो कारमा चढ्दै गर्दा एक व्यक्तिले टाउकोमा गोली हानेर हत्या गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । उनी निर्वाचन अभियानको कार्यक्रममा थिए । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि तीन गोली लागेको छ । इक्वेडरमा अगस्ट २० मा राष्ट्रपति पदका लागि पहिलो चरणको निर्वाचन हुँदैछ । सो निर्वाचनमा पूर्वपत्रकार समेत रहेका ५९ वर्षीय फर्नान्डो पनि उम्मेदवार थिए । पत्रकारितामा संलग्न रहँदा उनले भ्रष्टाचार र अपराधिक गतिविधिका विरूद्ध लेख्दै आएका थिए ।गत साता मात्रै उनले आफू र आफ्नो समूहलाई लागुऔषध ओसार प्रसारमा संलग्न गिरोहले धम्की दिएको बताएका थिए । इक्वेडरमा लागू औषध कारोबार र संगठित अपराध चिन्ताको विषय बनेको छ । इक्वेडरका वर्तमान राष्ट्रपति गुइलेर्मो लासोले फर्नान्डोको मृत्यु भएको पुष्टि गर्दै यस घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । उनले हत्यामा संलग्नलाई दण्ड दिनेसमेत बताएका छन् । लासो भने यसपटकको राष्ट्रपति निर्वाचनको उम्मेदवार छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here