काठमाडौँ, ९ साउन (रासस) |

गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको दुई करोड १२ लाख ६४ कित्ता शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विरणअनुसार हालसम्म ओटिसी बजारमा कारोबारका लागि हालसम्म दर्ता भएका कम्पनीको सङ्ख्या दुई सय छ वटा छ ।दर्ता भएका कम्पनीमध्ये गत आर्थिक वर्ष ८४ वटा कम्पनीको शेयर रू दुई अर्ब ८५ करोड ८४ लाख १९ हजार आठ सय ८६ बराबरको कारोबार भएको हो । ओटिसी बजारमा भएको कारोबारबाट गतवर्ष रू पाँच करोड २९ लाख ५५ हजार नौ सय ८० बराबरको पुँजीगत लाभकर प्राप्त भएको पनि नेप्सेले जनाएको छ । ओटिसी बजारमा काठमाडौँ फरेस्ट्री कलेजको सबैभन्दा धेरै प्रतिकित्ता रू एक हजार एक सय २५ मा दुई हजार दुई सय २२ कित्ता शेयर खरिदबिक्री भएको छ । ओटिसी बजारमा शेयर कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु एक सयका दरले किनबेच भएको देखिन्छ । नेपाल स्टक एक्सचेञ्जले ओटिसी बजारको अवधारणा विकास गरी २०६४ सालदेखि सञ्चालनमा ल्याएको थियो ।नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण नभएका, सूचीकरण खारेज भएका तथा सूचीकरणका लागि आवश्यक शर्त पूरा हुन नसेका पब्लिक कम्पनीको शेयर कारोबार तथा नामसारी नेप्सेले ओटिसी बजारमार्फत् गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here