पर्वत, ८ साउन (रासस) |

पर्वतमा गत आर्थिक वर्ष २०७९÷८० मा ९० साना सिँचाइका योजना सम्पन्न भएका छन् । कृषि ज्ञान केन्द्रमार्फत जिल्लाका विभिन्न क्षेत्रमा सिँचाइका लागि ३० तथा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोन इकाई कार्यालयअन्तर्गत ६० साना सिँचाइका योजना निर्माण गरिएका हुन् । सिँचाइको सुविधा नपुगेका सिमान्तकृत बस्तीमा प्रतियोजना रु दुई लाखका दरले निर्माण गरिएका हुन् । यसअन्तर्गत कुला, सिमेन्टका पोखरी, प्लाष्टिक पोखरी, ट्याङ्की, बोरिङ, पाइप विस्तार, इनार, साना बाँधलगायतको मर्मत सम्भारका साथै सिँचाइ पूर्वाधार निर्माण गरिएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिनुभयो ।

सहकारी, फार्म, किसान समूहको माग र भौगोलिक विकटता तथा आवश्यकताको आधारमा प्राथमिकता दिएर आयोजनाको छनोट गरिएको हो । धान जोन कार्यान्वयन इकाइका निमित्त प्रमुख सुजित पौडेलले चालु आर्थिक वर्षमा दुई कार्यालयमार्फत रु एक करोड ८० लाखको लागतमा ९० योजना सम्पन्न भएर यसै वर्षदेखि किसानले सिँचाइको सुविधा उपभोग गर्न पाएका बताउनुभयो । गत आवमा सम्पन्न साना सिँचाइ आयोजनाबाट करिब एक हजार दुई सय १० रोपनी क्षेत्रफलमा सिँचाइको पहुँच विस्तार भएको उहाँको भनाइ छ ।“स–साना बस्ती, फाँट, तरकारी फार्म र किसान समूहका लागि यस्ता योजना उपयोगी छन् ।पहिला खोला खोल्साबाट कुलो बनाएर तरकारी र खेतमा सिँचाइ गर्ने गरेकोमा साना सिँचाइ आयोजनाले थप सहज भएको किसानले बताएका छन् । पानीको स्रोत नभएका राजमार्गको नाली उपयोग गरेर सिँचाइ गर्ने कतिपय बर्खे खोला खोल्सीको पानी सदुपयोग गर्न पनि साना सिँचाइ आयोजना प्रभावकारी देखिएका छन् । साना सिँचाइ आयोजनाबाट किसानलाई धान रोप्न, धानको बीउ राख्न र तरकारी खेतीमा सिँचाइ गर्न गर्न सजिलो भएको छ । पर्वतको नौ हजार ५० हेक्टर धानखेती हुने जमिनमध्ये झण्डै ६ हजार चार सय २० हेक्टरमा स्थायी सिँचाइ सुविधा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here