नवलपुर, २० असार (रासस) |
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाले प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै ‘मेरो गाउँमा मेरै प्राविधिक’ कार्यक्रम ल्याएको छ । विद्यालय शिक्षालाई रोजगारसँग जोड्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाको भनाइ छ । प्राविधिक शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति समेत उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्याका आधारमा थप कार्यक्रम अगाडि बढाउने गाउँपालिकाको योजना छ । ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ अवधारणाले विद्यार्थीमा पढाइप्रति रुचि अभिृवद्धि हुने विश्वास लिइएको छ । अध्यक्ष ओझाले पालिकाभित्रका प्रत्येक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था समेत गर्न लागिएको जानकारी दिनुभयो । “विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयको निरीक्षण र सुपरीवेक्षणको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउनेछौँ” उहाँले भन्नुभयो, “प्रत्येक वडामा एउटा सामुदायिक विद्यालयलाई अगुवा विद्यालय घोषणा गरी त्यसको संस्थागत क्षमता विकासका लागि थप सहयोगको प्रबन्ध गर्दैछौँ ।” सम्पूर्ण विद्यालय जाने उमेरका विद्यार्थीलाई अनिवार्य विद्यालयसम्म पहुँच पु¥याउने वातावरणको सिर्जना गर्ने नीति समेत लिइएको उहाँले बताउनुभयो । पालिकाभित्रबाट माध्यमिक तहको परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने छात्र र छात्रालाई पुरस्कृत गरिने पनि उहाँको भनाइ छ । उहाँले पालिकाभित्रका विद्यालयमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ताका लागि प्रोत्साहनको व्यवस्था मिलाइने बताउनुभयो । यस शैक्षिक सत्रबाट कक्षा ३, कक्षा ५ र कक्षा ८ को परीक्षालाई गाउँपालिकास्तरीय रुपमा सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ । गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयका शिक्षक र प्रधानाध्यापकबीच तथा प्रधानाध्यापक र गाउँपालिकाबीच कार्यसम्पादन सम्झौता गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्नका लागि पाठ्यक्रम निर्माणको काम भइरहेको जानकारी दिनुभयो ।








