गण्डकी, २४ जेठ (रासस) |
गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल जारी छ । मङ्गलबारदेखि सुरु भएको छलफलमा आज पनि प्रदेशसभा सदस्यले आफ्नो धारणा राख्नुभयो ।आजको प्रदेशसभा बैठकमा बोल्ने सत्तापक्षका सदस्यले नीति तथा कार्यक्रम उत्कृष्ट रहेको औँल्याउनुभयो भने विपक्षी दलका सदस्यले नीति तथा कार्यक्रम महत्वकाङ्क्षी रहेको भन्दै कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका चम्पादेवी खड्काले नीति तथा कार्यक्रमले गण्डकी प्रदेशको विकास, समृद्धि र सुशासनको खाका तयार गरेको बताउनुभयो । उहाँले प्रदेशप्रतिको जिम्मेवारी र दायित्वबोध गर्दै सरकारले नागरिकमैत्री कार्यक्रम ल्याइएको उल्लेख गर्नुभयो । नेकपा (एमाले)का भीमबहादुर कार्कीले तथ्याङ्कमा आधारित वस्तुनिष्ठ कार्यक्रम आउन नसकेको बताउनुभयो । उहाँले छरिएर आएको नीति तथा कार्यक्रमले गन्तव्य पहिल्याउन नसकेको धारणा राख्नुभयो । नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारीले प्रदेशका सबैखाले आवश्यकतालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आएको बताउनुभयो । उहाँले प्रेदश सरकारको औचित्यमाथि प्रश्न उठिरहेका बेला जनआकाङ्क्षा पूरा गर्ने खालको बजेट र कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।
वैज्ञानिक अध्ययन गरेर मात्र नदीजन्य पदार्थको उत्खनन गर्नुपर्ने उहाँले बताउनुभयो । प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले नागरिकले महसुस गर्नेगरी सरकारले नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । नागरिकलाई दुःखसुखको साथी प्रदेश सरकार हो भन्ने अनुभूति दिलाउनुपर्ने उहाँले बताउनुभयो । ‘समन्नुत गण्डकी प्रदेश, सम्मानित प्रदेशवासी’ आदर्श वाक्यको व्यावहारिक कार्यान्वयन हुने गरी बजेटमा सम्बोधन हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । प्रदेशसभा सदस्य विकल शेरचनले सरकारले लोककल्याणकारी कार्यक्रम घोषणा गरेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमले समृद्ध प्रदेशको दिशाबोध गरेको धारणा राख्नुभयो । नेकपा (एमाले)का रोशनबहादुर गाहा थापाले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्रोत र विधि स्पष्ट नभएको बताउनुभयो । उहाँले महत्वकाङ्क्षी र एकाङ्की खालका कार्यक्रम समेटिएकाले कार्यान्वयन हुनेमा विश्वास गर्न नसकिने उल्लेख गर्नुभयो । प्रदेशसभा सदस्य पद्ममा जिसी श्रेष्ठले सरकारले ठोस, मूर्त र जनमुखी कार्यक्रम ल्याउन नसकेको बताउनुभयो । कतिपय आवधिक योजनाका कार्यक्रमलाई निरन्तरता दिन नसकेको उहाँले बताउनुभयो । प्रदेश सरकारको नीति तथा कार्यक्रमले विद्यमान समस्याको समाधान दिन नसक्ने प्रदेशसभा सदस्य श्रेष्ठले उल्लेख गर्नुभयो ।
प्रदेशसभा सदस्य भक्तबहादुर कुँवरले नीति तथा कार्यक्रम राम्रो आए पनि बजेटले कसरी समेट्छ भन्ने विषय महत्वपूर्ण हुने बताउनुभयो । उहाँले स्रोत पहिचान नगरी अमूर्त ढङ्गले नीति तथा कार्यक्रम तुर्जमा गरिएको धारणा राख्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङले नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले स्रोतमा आधारित रहेर यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो । प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य प्रकाश बराल, डिल्लीराम सुवेदीलगायत २० जना सदस्यले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नुभएको थियो । बिहीबारको बैठकमा थप छलफलपछि पारितका लागि नीति तथा कार्यक्रम प्रदेशसभामा पेस हुने जनाइएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यही जेठ २१ गतेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।








