विराटनगर, २२ जेठ (रासस)  |

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज परिवर्तनमा नेपाली पत्रकारिताको भूमिक महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिद्वारा आज यहाँ आयोजित ‘प्रादेशिक सम्मेलन’को उद्घाटन गर्दै उहाँले पत्रकारिता क्षेत्र सचेत रहेकै कारण सरकार पनि बलियो भएको प्रसङ्ग उल्लेख गर्नुभयो । पत्रकारिता क्षेत्रको सचेतना र इमान्दारिताले समाज पनि निकै महत्वपूर्ण परिर्वतन आएको बताउँदै उहाँले सञ्चारमाध्यमले आफू अनुकूल व्याख्या गर्न नहुने तर्क गर्नुभयो । मुख्यमन्त्री कार्कीले समाजलाई एकीकृत बाटोमा लैजान पत्रकारिता क्षेत्रले सत्य एवं तथ्यलाई जोड दिनुपर्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “जनताको विश्वासिलो शक्तिको रुपमा रहेको पत्रकारिता क्षेत्रमा वैचारिक भित्रता भए पनि राज्य निर्माणमा एक हुनुपर्छ ।” महासङ्घले सञ्चालन गरेको शुद्धीकरण अभियानले यो क्षेत्रलाई अझ बलियो र व्यवस्थित बनाउने विश्वास व्यक्त गर्दै उहाँले सञ्चार क्षेत्रको यथोचित विकास गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महासङ्घ केन्द्रीय समितिका अध्यक्ष विपुल पोखरेलले महासङ्घले क्रियाशील पत्रकारिता सुनिश्चितता गर्न शुद्धीकरण अभियान सञ्चालन गरेको भन्दै सदस्य प्राप्ति र अन्त्यको अधिकार जिल्ला शाखाको हुने स्पष्ट पार्नुभयो । उहाँले नैतिक र चरित्र निर्माण गर्न शुद्धीकरण अभियानले मद्दत गर्ने भन्दै प्रदेश सरकारले निर्माण गर्ने बजेट, नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको भूमिका स्पष्ट रुपमा लेख्नुपर्ने सुझाव दिनुभयो । महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष लीलाबल्लभ घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता भट्टराई, महासचिव रोशन पुरी, केन्द्रीय सदस्य अमर खड्का, पत्रकारहरु बन्धु पोखरेल, मीनकुमार नवोदित श्रेष्ठ, अविजाल विष्ट, विक्रम लुँइटेल र लवदेव ढुङ्गानाले पत्रकारिता क्षेत्रलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here