काठमाडौँ २ माघ ।
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आईतवारको भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै जाँचबुझ समितिले सरकारलाई बुझाएका प्रतिवेदनहरुको कार्यान्वयनमा हेलचेक्र्याईं गर्न नहुने बताउनुभएको छ । उपमहासचिव रिमालले हरेक पटक विमान दुर्घटनापछि जाँचबुझ समिति बनाइएक पनि समितिले बुझाएका प्रतिवेदनहरुको कार्यान्वयन हुन नसक्दा यस किसिमका दुर्घटनाहरु भइरहेको बताउनुभएको हो । उहाँले अब पनि विज्ञहरुले बुझाएको प्रतिवेदनको कार्यान्वयन नगर्ने हो भने सर्वसाधारणहरु विमानमा चढ्दा मर्छु की बाँच्छु भन्ने स्थितिका बीच यात्रा गर्न बाध्य हुने बताउनु भयो । सोमवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपमहासचिव रिमालले जाँचबुझ समितिले निकालेको निस्कर्षप्रति सरकार र सम्बन्धित निकायहरु कति इमान्दार छन् भन्ने प्रश्न आम मानिसमा रहेको बताउनु भयो । उहाँले सरकार र सम्बन्धित निकायहरुले विज्ञहरुले बुझाएको प्रतिवेदन अव्यवहारिक र गलत भए भन्न सक्नुपर्ने तर प्रतिवेदन बुझेर कार्यान्वयन गर्ने नभइ थन्क्याएर राख्ने परम्पराको अन्त्य हुन आवश्यक रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले
दिएका रिपोर्ट कति अवलम्वन गरिए भन्ने सन्दर्भमा जनताले प्रश्न उठाइरहेको भन्दै यसको सम्बोधन गर्ने बेला भइसकेको बताउनु भयो । उपमहासचिव रिमालले सम्बन्धित निकायले जाँचबुझ समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन नगर्ने
हो भने अन्तर्राष्ट्रिय स्तरमा पनि बदनाम हुने बताउनु भयो । काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २
किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । नोटः यो समाचार हामीले बाइट लिएर बनाएका हौँ । आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुन्छ ।








