रौतहट, २७ कार्तिक।
स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सहयोग गरेको भन्दै नेकपा एमालेले रौतहटका आफ्ना ५ जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ । प्रभु साहको श्रीमती मौलापुर नगरपालिकाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल र गरूडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवाललाई एमालेले स्पष्टीकरण सोधेको हो । पार्टीको विधान विपरीत स्वतन्त्र उम्मेदवार प्रभु साहको चुनावी प्रचारप्रसारमा संलग्न भएको हुनाले २४ घण्टा भित्रमा स्पष्टीकरण बारे जानकारी गराउन नेकपा एमालेको मधेस प्रदेश कमिटीले उनीहरुका नाममा पत्र काटेको छ । अन्यथा पार्टीको विधान अनुसार कारबाही हुने चेतावनी पनि पत्रमा दिइएको छ । अर्कोतर्फ पाँचै जनाकाे नाममा २४ घण्टै भनेर मिति २०७९/०७/२० काटिएता पनि उक्त पत्रहरु भने आज ७/२७ मा मात्रै सामाजिक संजालमा सार्वजनिक भएको देखिएकाे छ । प्रभु साहले नेकपा एमालेको टिकट लिएर पनि रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए ।






