काठमाडौं २२ कात्तिक ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२२ वटा मुद्दाहरुमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले मंगलवार पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रम गर्दै चालु आर्थिक वर्ष
२०७९÷०८० मा विशेष अदालतले फैसला गरेका १२२ वटा मुद्दाहरुमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता भएको जानकारी दिएको हो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले चालु आर्थिक वर्षमा विशेष अदालतबाट १६३ वटा मुद्दाको फैसला प्राप्त गरेकामा २० वटा मुद्दामा मात्रै सफलता प्राप्त भएको बताउनु भयो । उहाँले त्यसमध्ये १२२ वटा मुद्दामा मुद्दामा आयोगको चित्त नबुझेका कारण पुनरावेदनमा गएको स्पष्ट पार्नुभयो । १८ वटा मुद्दामा भने आयोगसँग पर्याप्त प्रमाण नपुग्ने भएकाले पुनरावेदन नगर्ने निर्णय भएको उहाँले बताउनु भयो । प्रवक्ता भण्डारीले आयोगले २४ वटा मुद्दामा पुनरावेदन जानेगरी काम गरिरहेको र ती मुद्दाहरुको फैसला प्राप्तिका लागि कुरेको बताउनु भयो । उहाँले अघिल्लो आर्थिक वर्षको दुईवटा मुद्दा पनि पुनरावेदन गरेको जानकारी दिनुभयो । सो मुद्दाहरु सामाजिक सुरक्षाभत्ता हिनामिना र गैरकानूनी सम्पती आर्जनको रहेको उल्लेख गर्नुभयो । पुनरावेदनमा गएका १२२ वटा मुद्दाहरु मध्ये गलत प्रतिवेदनका २ वटा, झुटा बिल भरपाईका २ वटा, घुस÷रिसबतका ११२ वटा, नक्कली बैंक ग्यारेन्टीको १ वटा, जग्गाधनी स्रेस्ता सच्याएको १ वटा र राजस्व चुहावटको १ वटा रहेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी सार्वजनिक पुल निर्माणको १ वटा र गुणस्तरहिन सामान खरिदको १ वटा रहेको उहाँको भनाई छ । प्रवक्ता भण्डारीले गत आर्थिक वर्षमा विशेष अदालतबाट १४८ वटा मुद्दाको फैसला प्राप्त गरेकोमा ५७ वटामा मात्र सफलता प्राप्त गरेको पनि जानकारी दिनुभयो ।








