काठमाडौं,१२,असोज ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले ब्याजदर बढाएर उद्योगी,व्यवसायीहरुलाई ठगी गरेको बताउनुभएको छ । मंगलवार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले सरकारले बैंकहरुले बढाएको ब्याजदर नियन्त्रण नभए व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले बजारमा तरलता संकटलाई देखाएर पहिल्यै लिएको ऋणमा समेत बैंकहरुले चर्को ब्याज लिइरहेको आरोप लगाउनु भयो । उपाध्यक्ष श्रेष्ठले बैंकहरुले निक्षेपको ब्याजदर बढाएर निक्षेप संकलन गरी त्यसमा प्रिमियम जोडेर ऋणिमाथि थप बोझ थपेको बताउनु भयो । श्रेष्ठले बैंकहरुले आफैं ब्याज बढी दिने र आधार दर बढेको बहानामा कर्जाको ब्याजदर र कर्जामा मार्जिन दरसमेत वृद्धि गरिएको श्रेष्ठले बताउनु भयो । उहाँले बैकहरुले निक्षेपको ब्याजदर बढाएर निक्षेप संकलन गर्न नपाउने बताउनु भयो । उहाँले बजारमा तरलता अभावले बैंकहरुको शाखामा १० लाखको चेक लिएर जाँदा समेत पैसा छैन भनेर फर्कनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले बैंकहरुले अहिले उच्च नाफाको लागि लगानी गरिरहेको बताउनु भयो । उहाँले बैंकको २ अर्बको पुँजीमा २ करोड कमाउँदा १० प्रतिशत लाभांस बाँड्न पुग्ने भन्दै अहिले २४ अर्बको पुँजी भएकाले २ अर्ब कमाउनको लागि ब्याजदर बढाएर कमाउन लागेको उल्लेख गर्नुभयो । उपाध्यक्ष श्रेष्ठले राष्ट्र बैंकले नै बैंकहरुलाई ब्याज बढाउन छुट दिएको आरोप लगाउनु भयो । उहाँले बैंकहरुले बढाएको १५ प्रतिशत ब्याज स्वभाविक नभएको भन्दै ब्याजदर वृद्धिको समस्या समाधानको लागि व्यवसायी,बैंक, राष्ट्र बैंक र सरकार मिलेर जानुको विकल्प नभएको जिकिर गर्नुभयो ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले बैंकहरुको मर्जरको औचित्यबारे प्रश्न उठाउनु भयो । उहाँले खुला बजार अर्थतन्त्र लागू हुँदै गर्दा धमाधम बैंकको लाइसेन्स बाँडिएको र अहिले बैंकको सख्या घटाउँदै किन मर्ज गर्न लागेको ? भन्दै प्रश्न गर्नुभयो । उपाध्यक्ष श्रेष्ठले बैंकको सख्या कम गर्ने बैंकहरुलाई मर्ज गराएर राष्ट्र बैंकले बैंकिङ प्रणालीलाई संकुचित बनाउन खोजेको अरोप लगाउनु भयो । उहाँले खुला बजार अर्थतन्त्रलाई अब अर्कै बाटो हिँडाउन लागिएको वा खुला बजार अर्थतन्त्रमा वाणिज्य बैंकको संख्या घटाएर एकाधिकार प्रकृतिको अर्थतन्त्र निर्माण गर्न लागेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले बैंकहरुको मर्जर नीतिलाई राष्ट्र बैंकले पुनर्विचार गर्नुपर्ने आशय व्यक्त गर्नुभयो । उपाध्यक्ष श्रेष्ठले राष्ट्र बैंकले बैंकहरुको मर्जर गर्ने नीति लिँदा बैंकहरुलाई ब्याज बढाउने बढवा मिलेको बताउनु भयो । उहाँले बैंकहरुले नाफा कमाउनु हुँदैन भन्ने पक्षमा नभएको बताउनु भयो । श्रेष्ठले अर्थतन्त्रमा देखिको समस्यामा निजी क्षेत्र मात्रै धैर्य भएर बस्नुपर्ने हो भन्दै प्रश्न गर्नुभयो । उहाँले अहिले व्यवसायीहरुको दशैँको अवस्थामा पनि ८० प्रतिशत व्यापार कम भएको बताउनु भयो । मंगलवार काठमाडौं उद्योग वाणिज्य संघले वाणिज्यहरुले बैंकहरु मर्जमा जाँदा एकाधिकार प्रकृतिको बजार श्रृजना भएको भन्दै संघले यसबारे गम्भीर विश्लेषण गर्नु जरुरी रहेको बताएको छ । संघले राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाउदै बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने तथा प्राप्तीमा जाँदा एकाधिकार प्रकृतिको बजार श्रृजना भएको उल्लेख गरेको छ । मर्जका कारण वाणिज्य बैंकहरुको संख्या घट्न गई एकाधिकार प्रकृतिको बजार श्रृजना भइ प्रतिष्पर्धी बजारमा जस्तो तुलानात्मक बढी लाभ लिनसक्ने असस्थामा कमी आएकोतर्फ गम्भीर विश्लेषण जरुरी रहेको बताएको छ । त्यस्तै, नेपालका बैंकहरु सम्भाव्य परियोजनामा भन्दा प्रतिष्ठाका आधारमा व्यक्तिलाइ लगानी गर्ने, सिमित दायित्वलाइ असिमित बनाउने, व्यक्तिगत जमानी लिने, कालो सूचीको त्रासमा ऋणी माथी अन्याय गर्ने, पत्रिकामा नाम निकालेर ग्राहकको बेइज्जत गर्नेसम्मका कार्य भएकोले त्यस्ता कार्य बन्द गर्नको लागि गभर्नर समक्ष आग्रह गरिएको छ । संघले व्याजदर वृद्धि नियन्त्रण गरिनुपर्ने, कर्जाको उचित ब्याजदर निर्धारण हुनुपर्ने, कर्जा सहज हुनुपर्ने, निक्षेप संकलन स्वस्थ हुनुपर्ने, लगायतका विषय समावेश छन् ।








