काठमाडौं,९,भदौ  ।

प्रदेश १ को लोकसेवा आयोगका सचिव बाबुराम खतिवडाले प्रदेश सरकारलाई
जनशक्तिको अभाव भएपनि आयोगसँग जनशक्तिको माग नगरेको दाबी गर्नुभएको छ ।
बुधवार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको
प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले प्रदेश १ मा ५० प्रतिशत जनशक्तिको अभाव रहेको भन्दै त्यसलाई
परिपूर्ति गर्न आयोग तयार रहेको बताउनु भयो । उहाँले प्रदेश लोकसेवा आयोगले
दशैँ अघिसम्म ६ सय जनशक्ति स्थानीय तहलाई आपूर्ति गर्नेपनि बताउनु भयो ।
उहाँले संघीय निजामति ऐनका कारण नै यो समस्या सिर्जना भइरहेको बताउनु भयो ।
सचिव खतिवडाले अन्य प्रदेशले प्रदेश निजामति कानून बनाएर प्रदेशको जनशक्ति
आयोगसँग माग गरिसक्दासमेत प्रदेश १ ले कानून बनाउन नसकेको गुनासो गर्नुभयो
। उहाँले विगत ५ वर्ष यता संघीयता आउनु, गाउँघरसम्म सेवा प्रवाह पुग्नु,
गाउँघरसम्मै ठूलो मात्रामा बजेट पुग्नु उपलब्धि भएपनि त्यससँगै
भ्रष्टाचारको जालोपनि पुगेको बताउनु भयो । उहाँले सबै समस्या मानसिकतामा
रहेको उल्लेख गर्दै राजनीतिक नेतृत्वको सामन्ती मानसिकता परिवर्तन नभइ
संघीयता बलियो बनाउन नसकिने जिकिर गर्नुभयो । उहाँले हरेक सरुवा, बढुवा,
पोस्टिङमा पैसाको खेल भएको भन्दै कानून बनाउनेबाट नै उल्लंघन हुने गरेकोले
सबैले कानून पालना गरे आफैँ समस्या समाधान हुने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जनशक्तिको अभाव छ, ५० प्रतिशत जनशक्तिको अभाव प्रदेशमा छ
। त्यसको लागि लोकसेवा आयोग त्यो जनशक्ति आपूर्ति गर्न तयार छ तर प्रदेश
सरकार माग गर्न तयार छैन । हामी ६ सय जनशक्ति आपूर्ति गर्ने प्रक्रियामा
छौँ । दशैँअघि हामी जनशक्ति आपूर्ति गर्छौं । त्यो विशुद्ध स्थानीय तहमा हो
। तर प्रदेश सरकारले आजसम्म पनि एकजना कर्मचारी मलाई चाहियो भनेको छैन ।
समस्या संघीय निजामति ऐन नै हो । अन्य प्रदेशले प्रदेश निजामति कानून
बनाइसके, प्रदेशको जनशक्ति आयोगसँग माग गरिसके आपूर्ति भइसक्यो, तर यो
मात्रै एउटा प्रदेश हो, जुन हामीले बारम्बार घच्घच्याउँदा पनि कर्मचारी माग
भएको छैन । उपलब्धि भनेको संघीयता आयो, र गाउँघरसम्म सेवा प्रवाह पुग्यो,
उपलब्धि भयो, गाउँघरसम्मै ठूलो मात्रामा बजेट गयो उपलब्धि भयो, भ्रष्टाचार
पनि सँगै गयो यो समस्या भयो । समस्या मानसिकतामा छ, हामीले राजतन्त्र
समाप्त गरेर गणतन्त्र ल्यायौँ तर सामन्ती मानसिकता राजनीतिक नेतृत्वबाट
समाप्त बनाउन सकेनौँ । राजनीतिक दलहरुको मानसिकता परिवर्तन नभएसम्म कागजमा
लेखेर केही परिवर्तन हुँदैन । अहिले ब्यूरोकेसी ध्वस्त भएको छ । हरेक
सरुवा, बढुवा, पोस्टिङमा पैसाको खेल भएको छ । भ्रष्टाचार बढेर गएको छ ।
कानून बनाउनेबाट नै उल्लंघन भएको छ । माग आए ६ महिनाभित्र जनशक्ति आपूर्ति
गर्न सक्षम छौँ । कर्मचारीले अहिले पूर्ण स्वतन्त्र रुपमा काम गर्न
सक्दैनन् । सचिव खतिवडाले अहिले कर्मचारीले पूर्ण स्वतन्त्र भएर काम गर्न नसकेको दाबी
गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here