काठमाडौैं,३१,साउन ।
यसै साता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त हुनुभएका
मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास सुचारु गर्नुभएको छ ।
कीर्तिपुर स्थित त्रिभूवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रभाकरले
अभ्यासको थालनी गर्नुभएको हो । उहाँको प्रशिक्षणमा नेपाली टोली केन्या
भ्रमण गर्दैछ । पुबुदु दाशानायकेले ७ महिनाको प्रशिक्षण यात्रालाई अन्त्य
गरेसँगै नियुक्त हुनुभएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई
सुधार गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । पहिलो दिनको सामान्य अवलोकनपछि
प्रभाकले नेपाली टोलीमा टेक्निकको समस्या रहेको बताउनु भयो । केन्या भ्रमण
गर्न लागेको टोलीमा नेपाल क्रिकेट संघ क्यानले पूर्व कप्तान ज्ञानेन्द्र
मल्ललाई समेट्दै १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको
छ । अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुन लागेको ५
ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि क्यानले लेग स्पिनर सन्दिप
लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । जसमा ज्ञानेन्द्र
मल्लले पुनरागमन गरेका छन् भने यु–१९ टोलीका विकेटकिपर अर्जुन साउद पनि
टोलीमा अटाएका छन् । मल्लले पछिल्लो पटक विश्व क्रिकेट लिग–२ अन्तगर्त
मार्चमा युएईसँगको खेलमा समावेश थिए ।
राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्याण्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल
भुर्तेल र सुनिल धमला टोलीबाट बाहिरिएका छन् भने अर्जुन साउद पहिलो पटक
राष्ट्रिय टोलीमा अटाएका हुन् । यस्तै वैकल्पिक खेलाडीमा क्यानले चार
खेलाडी समावेश गरेको छ । वैकल्पिकमा तीब्र गतिका बलर जितेन्द्र मुखियासहित
भीम सार्की, प्रतिश जिशी र हरिशंकर शाह रहेका छन् ।
घोषणा भएको टोलीले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुने
सिरिज खेल्नेछ । नेपालले भ्रमण गर्ने सिरिजमा ५ ट्वान्टी–२० र तीन एक
दिवसीय खेल हुनेछन् । दुवै सिरिज केन्याको घरेलु मैदानमा हुनेछ । घरेलु
टोली केन्यासँगको सिरिजको लागि तालिका समेत सार्वजनिक गरेको छ । तालिका
अनुसार नेपालले ट्वान्टी–२० सिरिज खेल्नेछ । पहिलो ट्वान्टी–२० अगस्ट २५ मा
हुनेछ भने दोस्रो अगस्ट २६, तेस्रो अगस्ट २८, चौथो अगस्ट २९ र अन्तिम अगस्ट
३० मा हुनेछ । यस्तै पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय
सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुने तालिका रहेको छ ।
नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपाली
टोली केन्या भ्रमणमा जानेछ ।








