काठमाडौं,१८ साउन, ।
एसईईपछि अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्न चाहनेका लागि उत्कृष्ट विकल्प हो, ए लेभल । जगजाहेर नै छ, ए लेभल विश्वस्तरका पाठ्यक्रम, पठन प्रणाली र प्रमाण पत्र हो । ए लेभल अध्ययनका एसईईमा राम्रो ग्रेड नै लिनुपर्छ भन्ने छैन । जबकि यसले एउटा विश्वस्तरीय शिक्षाका लागि सुनौलो ढोका खोलिदिन्छ ।अहिले ए लेभल भर्नाको सिजन हो । एसईईमा प्राप्त हुने ग्रेडले ए लेभल भर्नाको लागि खास फरक पार्दैन । ए लेभल पढ्नका लागि एउटै सर्त हो, विद्यार्थीको रुचि ।
अलि मिहिनेती र सिर्जनशील विद्यार्थीले ए लेभलमा राम्रो नतिजा ल्याउन सक्छन् । हाम्रो विद्यालय शिक्षाले कमजोर ठहर्याएका विद्यार्थीले पनि ए लेभलमा उत्कृष्टता हासिल गर्न सक्छन् । सन् २००९ मा हामीकहाँ पढेका सुमन भण्डारीले ए लेभलमा गणित विषयमा वर्ल्ड टप गरे । जबकि एसएलसीमा राम्रो अंक नआएपछि उसले ए लेभल रोजेको थियो ।
सन् २०१९ मा पनि हाम्रै कलेजबाट ऋतिक यादवले कम्प्युटरमा वर्ल्ड टप गरे । उनी अहिले हङकङमा छन् । खासमा उनी कम्प्युटरमा निकै लगाव भएको र पोख्त विद्यार्थी थिए, तर नेपालको शिक्षा पद्धति उनलाई मन परेन । त्यसैले ए लेभलमा भर्ना भएका थिए ।
हामीकहाँ आएका कतिपय विद्यार्थीले विश्व टप गरेका छन् । विश्वभरका विद्यार्थीमाझ प्रतिस्पर्धा गरेर सर्वोत्कृष्ट हुनु गौरवको कुरा त हो नै, साथै मौका पाए भने हाम्रा विद्यार्थी पनि अब्बल छन् भन्ने यसले देखाउँछ ।ए लेभलमा आपसी छलफल, प्रोजेक्ट वर्क, सामूहिक क्रियाकलाप, सेमिनार, प्रस्तुतिकरण जस्ता अभ्यास गराइन्छ ।
विश्व प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेशन कार्यक्रम अन्तर्गत सञ्चालन हुने शैक्षिक कार्यक्रम हो ए लभेल । यो शैक्षिक कार्यक्रम विश्वका एक सय २५ देशमा सञ्चालनमा छ । क्याम्ब्रिजले तयार गरेको पाठ्यक्रम, शिक्षण विधि र परीक्षा प्रणाली भएकाले यो निकै उन्नत र वैज्ञानिक मानिन्छ । ए लेभलको परीक्षा विश्वभरका विद्यार्थीले एकै मापदण्डमा रहेर दिनुपर्ने हुन्छ ।
यसका खास विशेषता छन्, जस्तो, यसको कोर्स व्यावहारिक एवं प्रयोगात्मक छ । विश्वभर एकै प्रणालीबाट यसको पठनपाठन हुन्छ । ७० वटा हाराहारी विषयमध्येबाट विद्यार्थीले आफू अनुकूलको विषय छनोट गर्न सक्छन् । मुलुक अनुकूल भिन्नाभिन्नै विषय पठनपाठन गर्ने सुविधा ए लेभलमा छ। नेपालमा जनरल पेपर अन्तर्गत अंग्रेजीलाई अनिवार्य विषय बनाएका छन् । त्यसबाहेक विज्ञान, गणित, मानविकी, व्यवस्थापनका छुट्टाछुट्टै विषय पढ्न सकिन्छ । नेपालको पाठ्यक्रममा जस्तो अनिवार्य विषय पढ्नुपर्ने झमेला हुँदैन ।
विद्यार्थीले कुनै विषयमा पोख्त भएपछि आफ्नो मर्जी अनुसार परीक्षा दिन सक्छन् । त्यति मात्र होइन ७० वटा विषयमा जुनसुकै विषय पनि छनोट गरेर पढ्न सकिन्छ । एउटा संकायको विद्यार्थीले अर्को संकाय पढ्न छुट हुन्छ । कुनै विषयमा कम ग्रेड हासिल भएमा पुनः विद्यार्थीले सोही विषयको मात्र परीक्षा दिन सक्छन् । यसको कोर्स हरेक वर्ष अध्यावधिक गरिन्छ ।
वर्षमा दुई पटक ए लेभलको परीक्षा विश्वभर एकसाथ सञ्चालन हुन्छ । मे–जुनमा एउटा अनि अक्टोबर–नोभेम्बरमा अर्को । परीक्षाको नतिजा पहिलोको अगस्टमा र दोस्रोको जनवरीमा सार्वजनिक हुन्छ । ए लेभलमा ग्रेडप्रति सन्तुष्ट नभएसम्म परीक्षा दिन पाइन्छ । यसमा फेल भएको सर्टिफिकेट आउँदैन । ए लेभलमा फेल नभई अनग्रेडेड भन्ने हुन्छ । तुलनात्मक रुपमा यहाँ त्यति धेरै फेल हुँदैनन् । समग्रमा १० देखि १५ प्रतिशत मात्रै फेल हुन्छन् । ए लेभल पूरा गर्न चार विषयमा उत्तीर्ण गर्नुपर्छ । यद्यपि विद्यार्थीले चाहेको अवस्थामा अरु विषयमा पनि परीक्षा दिन पाउँछन् ।
ए लेभलको पढाइ जति प्रयोगात्मक र व्यावहारिक छ, उत्ति नै यसको परीक्षा प्रणाली पनि पारदर्शी र सन्तुलित छ । परीक्षार्थीको कपी पीडीएफ राखिदिएको हुन्छ । त्यसलाई शिक्षकले जाँच गरिसकेपछि पुनः प्रिन्सिपलले जाँच गर्छन् । कपी जाँचमा त्रुटि हुने कुनै सम्भावना नै हुँदैन । हामीकहाँ जस्तो अक्षर बुझिएन, केरमेट भएछ भन्ने हुँदैन ।
ए लेभल वैश्विक शिक्षाको प्रवेशद्वार पनि हो । ए लेभलको प्रमाणपत्रलाई संसारभरका विश्वविद्यालयले विश्वास गर्ने भएकाले अन्तर्राष्टिय शिक्षा लिन चाहने विद्यार्थीका लागि यो एक उपयुक्त रोजाइ हुनसक्छ ।प्रत्येक विषय अनि प्रत्येक सेसनमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई क्याम्ब्रिजले सम्मान एवं प्रमाणपत्र दिने गर्छ, विशेष समारोह गरेर । यसमा राम्रो ग्रेड ल्याउने विद्यार्थीले विश्वका कतिपय विश्वविद्यालयबाट छात्रवृत्तिको अवसर समेत पाउन सक्छन् । त्यसो त ए लेभल अध्ययनपछि क्याम्ब्रिज, हार्वर्ड जस्ता विश्वविख्यात विश्वविद्यालयमा पढ्ने अनुकलता पनि मिल्न सक्छ ।
ए लेभल अध्ययनपछि विद्यार्थी कुन क्षेत्रमा अध्ययन गर्ने हो, सोही अनुरुप बाटो समात्न सक्छन् । जस्तो चिकित्सा, व्यवस्थापन, मानविकी, इन्जिनियरिङ ।
यद्यपि ए लेभल अध्ययनपछि विदेश नै ताक्नुपर्छ भन्ने छैन । ए लेभलमा राम्रै नतिजा हासिल गरेर यही पढ्नेहरु पनि छन् । हुन त कुनै विद्यार्थी विदेश जान्छ भन्दैमा त्यतै पलायन हुन्छ भन्ने पनि छैन । मान्छे जति क्षमतावान् हुँदै जान्छन्, देशप्रेम पनि बढ्दै जान्छ । उनीहरु विदेशमा गएर अन्तर्राष्ट्रिय शिक्षा र सीप आर्जन गरेर स्वदेश फर्कन्छन् ।
यद्यपि अब स्तरीय पढाइका लागि विदेश जानैपर्छ भन्ने धारणा पनि घट्दै गएको छ । अमेरिकामा आईटी पढ्नु र नेपालमा आईटी पढ्नुमा अब फरक छैन । विश्वविद्यालयले धेरैभन्दा धेरै विषय उपलब्ध गराउने हो भने धेरै विद्यार्थी नेपालमै पढ्थे ।
अबको पढाइ फगत आफ्नो लागि मात्र नभएर समुदायका लागि पनि हुनुपर्छ । आफ्नो ज्ञान, सीप, क्षमताबाट कुनै न कुनै रुपमा आफ्नो समुदाय पनि लाभान्वित हुनुपर्छ । जस्तो अमेरिकामा मैले कुनै विषयमा अनुसन्धान गरेको छु भने त्यो हामीकहाँ जस्तो पेपरमा उतारेर मात्र हुँदैन । त्यसलाई समुदायमा लगेर प्रयोग गर्नुपर्छ । समाजसँग जोड्नुपर्छ ।
ए लेभल पढ्नका लागि विद्यार्थीले आफ्नो क्षमता, तयारी र आर्थिक स्थितिमा पनि ध्यान दिनुपर्ने हुन्छ । ए लेभलका लागि कोर्स गर्नका लागि वार्षिक २ लाखदेखि २ लाख ७५ हजार रुपैयाँसम्म लाग्न सक्छ ।
कतिपय विद्यार्थी ए लेभल पढ्न चाहन्छन् तर आर्थिक समस्या छ भने उनीहरुले छात्रवृत्तिका लागि प्रयास गर्न सक्छन् । हामीले पनि यहाँ ए लेभलको लागि छुट्टै छात्रवृत्तिको व्यवस्था गरेका छौं । त्यसो त ए लेभल पढ्नका लागि कलेजमा भर्ना हुनैपर्छ भन्ने छैन । ब्रिटिश काउन्सिल नेपालमा आफ्नो नाम दर्ता गराएपछि विश्वविद्यालयले लिने आवश्यक दस्तुर तिरेर परीक्षा दिन पाउँछन् । अर्थात् नियमित कलेज जान असमर्थ विद्यार्थीले प्राइभेट परीक्षा दिन सक्छन् ।
तीन दशकभन्दा बढी समय बितिसकेको छ, नेपालमा ए लेभलको पढाइ सुरु भएको । बुढानीलकण्ठ स्कुलबाट नेपालमा ए लेभल पठनपाठन सुरु भएको हो । नेपालमा ब्रिटिश काउन्सिलले ए लेभलको परीक्षा सञ्चालन र अनुगमन गरिरहेको छ । ए लेभललाई कक्षा ११ र १२ को समकक्षता प्रदान गरिएको छ । यो दुईवर्षे कोर्स हो । अहिले नेपालमा एक दर्जनभन्दा बढी कलेजमा ए लेभल पढाइ हुन्छ ।
(जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक भण्डारीसँगको कुराकानीमा आधारित )







