काठमाडौं,१६,साउन ।
संघीय निजामती सेवा ऐनमा विभिन्न मागहरु सम्बोधन गर्नु पर्ने भन्दै सिंहदरबारभित्रै कर्मचारीहरुले प्रर्दशन गरेका छन् । निजामती कर्मचारी युनियनका महासचिव प्रकाश भट्टराईको नेतृत्वमा ‘नासु बचाऊ अभियान’ले सिंह दरबार परिसरका सडकमा प्रदर्शन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका हुन् । उनीहरुले बिहान ९:२५ देखि ९:५५ बजेसम्म प्रदर्शन गरेका हुन् । सरकारले लामो समयदेखि ल्याउन खोजेको संघीय निजामती सेवा ऐनमा कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहमा तहगत व्यवस्था राख्नुपर्ने बताएका छन् । नायब सुब्बालाई अन्याय भएको भन्दै ऐनमा शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक/अन्तर तहतर्फ प्रतिष्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग उनीहरुको छ । भट्टराईले अनलाइनखबरसँग भने ‘सहसचिव र उपसचिव सरहको पदमा योग्यता पुगेका राजपत्र अनंकित कर्मचारीले पनि प्रतिष्पर्धा गर्न पाउनुपर्ने हाम्रो माग रहेको छ । अहिले विभिन्न संघसंस्थामा काम गरेकाहरुले खुल्ला प्रतिष्पर्धा गर्न पाउँदा राजपत्र अनंकित कर्मचारीले प्रतिस्पर्धा गर्न पाएका छैनन् । अर्को चाहिं निजामती ऐनमा सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य हुनुपर्ने हाम्रो माग हो । जसले गर्दा कर्मचारी सरुवा गराउने मन्त्रालय धाउने प्रणालीको अन्त्य हुने थियो । निजामती ऐनको विषयमा कर्मचारीहरुले अहिले सांकेतिक रुपमा विरोध गरेपनि मागहरु सम्बोधन नभई निजामती ऐनमा आएमा आन्दोलन चर्काउने भट्टराईले बताए ।








