बोक्सी प्रथा विरुद्ध बाराको फेटा गाउँपालिकामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जनचेतना जगाउँने उद्देश्यले तयार पारिएको ‘कुनै मान्छे बोक्सी हुन्न कहिल्यै’ शीर्षकको चलचित्र प्रर्दशन गरिएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत फेटा गाउँपालिका वडा नम्बर ३ फेटास्थित गाउँपालिका कार्यालयको सभा हलमा राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल, जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय प्रसौनीको संयुक्त आयोजनामा सो चेतनामूलक चलचित्र प्रदर्शन गरिएको थियो । फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारीको प्रमुख आतिथ्यमा भएको सो फिल्म प्रदर्शनीमा गाउँपालिकाकी उपाध्यक्ष निलम साह, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंह, इलाका प्रहरी कार्यालय प्रसौनी बाराका कार्यालय प्रमुख प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीलगायत संचारकर्मी तथा सुरक्षाकार्मीहरुको समेत उपस्थिति रहेको थियो ।








