फरार अभियुक्तमाथि कडा निगरानी र अनुसन्धान बढाएसँगै विभिन्न जघन्य अपराधका अभियुक्त पक्राउ पर्ने क्रम बढेको छ । यसैक्रममा सप्तरी प्रहरीले आर्थिक वर्ष २०७८÷७९ मा ४ सय ४ जना फरार अभियुक्तलाई पक्राउ गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी उपरीक्षक अविनारायण काफ्लेले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी गराएका हुन् । ठ ू ल् ठ ू ल ा अपराध गरेर भाग्ने र लुकिछिपी बसेको अवस्थामा नेपाल प्रहरीले सुराकी र अनुसन्धानको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक काफ्लेले बताए । उनका अनुसार विगतमा ठूल्ठूला अपराध गरी विभिन्न ठाउँमा लुकेर बसेको अभियुक्तमाथि प्रहरीले खोजबीन जारी राखेको छ । शुक्रबार नै राजविराजस्थित भगवती मन्दिर नजिकैबाट कर्तव्य ज्यानका एक फरार प्रतिवादीलाई पक्राउ गरेको थियो । फरार अभियुक्त पक्राउ गरी फैसला कार्यान्वयन गर्दा प्रहरीले राजश्व समेत बढाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा फरार अभियुक्तको जरिवानाबाट १० लाख ८९ हजार १ सय २६ रुँपैया राजश्व संकलन गरेको छ ।
यस्तै उनीहरुबाट १ सय ३ वर्ष ८ महिना २६ दिन कैद सजाय तोकेका छन् । यसअवधिमा जिल्लामा विभिन्न अपराधका ८ सय ३० घटना दर्ता भएका छन् । जसमध्ये अभद्र व्यवहारका सर्वाधिक १ सय ६२ मुद्दा छन् । यस्तै भवितब्य ज्यानका १ सय ७, लागूऔषधका १ सय ५ र आत्महत्या १ सय ४ घटना भएका छन् । यस्तै ज्यान मार्ने उद्योगका ३८, सवारी ज्यानका ६९, चोरीका ५१, कर्तव्य ज्यानका १४ र जबरजस्तीकरणीका २५ वटा घटना प्रहरीमा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा यसरी दर्ता भएका घटना मध्येका फरार अपराधीको संख्या भने ४ सय १७ रहेको प्रहरीद्वारा उपलब्ध गराइएको वार्षिक प्रगति विवरणमा उल्लेख छ । फरार रहेकाहरुको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ । यसअवधिमा लागू औषध मुद्दामा १ सय ४१ जना पक्राउ परेका छन् । यसले लागू औषधका दुव्र्यसनी र कारोवारीको संख्यामा बृद्धि भएको तथ्याङ्कले देखाएको छ । डिएसपी माधवप्रसाद काफ्लेले यस अवधीमा एक भारतीय नागरि कसहित तीनजनालाई पक्राउ गरी श्रोत नखुलेको १७ लाख १८ हजार रुँपैया जफत गरी भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए । यस्तै भन्सार छलि अवैध रुपमा भित्राइएको २ करोड ७१ लाख ३४ हजार ८९ रुँपैयाको विभिन्न अवैध मालसामानसहित ४० जना कारोवारीलाई पक्राउ गरी भन्सार कार्यालयमा बुझाइएको छ । जनशक्तिको अभावको बाबजुद शान्तिसुरक्षाका लागि भएको श्रोतसाधनको उच्चत्तम परिचालन गरि अपराध नियन्त्रणमा खटेको उल्लेख गर्दै वार्षिक प्रतिवेदनमा अपराध मुक्त र सुरक्षित समाज निर्माणका लागि आर्थिक वर्ष २०७८÷७९ मा महिला हिंसा सम्बन्धी १४, लागूऔषध सम्बन्धी २४, लैङ्गिक हिंसा सम्बन्धी २२, सरसफाई सम्बन्धी ४४, कोरोना बिरुद्धको ६५, जातीय छुवाछूत बिरुद्धका एक, ट्राफिक नियम पालनाका १५ र साइबर क्राइमका २ लगायतका गरि ६ सय २५ वटा सचेतना कार्यक्रम गरिएको र यसबाट ४ लाख ३३ हजार १ सय ४२ जना लाभान्वित भएको वार्षिक प्रतिवेदनमार्फत जनाइएको छ ।








