जनकपुर,१५,असार ।
जनकपुरधाम उपमहानगरपालिकाले धान दिवस मनाएको छ । ‘अन्नबाली जनकपुरधामको रखवाली’ भन्ने मूल नाराका साथ बुधबार जनकपुरधामस्थित नोचा पोखरीमा उपमहानगरपालिकाले धान दिवस मनाएको हो ।दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले आगामी आर्थिक वर्षदेखि कृषि क्षेत्रलाई प्राथमिकता दिँदै उपमहानगरपालिकाले कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।साथै कृषि उत्पादकत्व बढाउन माटो परिक्षण, जैविक मलको उत्पादनमा जोड, यान्त्रिकीकरण, सिचाईको सहज उपलब्धता र कृषि मिटरमा छुट, चौपाया गाईवस्तुमा अनुदान लगायतका कार्यक्रम ल्याउन लागेको मेयर साहले बताए ।उपमहानगरपालिकाको कृषि शाखाद्वारा आयोजित सो कार्यक्रममा मेयर साह र प्रमुख प्रशासकीय अधिकृत उपाध्याय सहित वडा नम्बर १०, १५ र २० अध्यक्ष, उपमहानगरपालिकाका कर्मचारी सो क्षेत्रका एक दर्जनभन्दा बढी किसानहरुले धान रोपेका थिए ।







