हेटौंडा,५,असार  ।

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेटमा १९ वटै वडाले पाउने रकम बढाउने भएको छ ।आगामी आव २०७९/०८० मा १९ वडामा पाँच वर्षदेखि तोकिएको सिलिङभन्दा ५ करोड ७० लाख रुपियाँ थपिने भएको हो ।चालु आर्थिक वर्षमा वडा तहमा तोकिएको सिलिङमा बजेटले विकास निर्माणको काममा असहज भएको भन्दै नवनिर्वाचित नगर प्रमुख मिनाकुमारी लामाले १९ वटै वडाको सिलिङमा ३०/३० लाख रुपैयाँ वृद्धि गराएकी हुन् ।०७४ देखि बजेट सिलिङमा एकरुपता भएपछि मेयर लामाको अध्यक्षतामा जेठ २६ गते बसेको स्रोत अनुमान समितिको बैठकले प्रति वडा ३०/३० लाख रुपैयाँ सिलिङमा थप गरेर पठाउने निर्णय गरेको थियो ।थपिएको रकमले विकासका कामलाई सहज बनाउन मद्दत पुग्ने मेयर लामाको दाबी छ । बजेट सिलिङ तयार गरेर वडाहरुमा तयारीका लागि पठाएको उपमहानगरले गएको ५ वर्षमा पहिलो पटक नयाँ नेतृत्वसँगै बजेट सिलिङमा वृद्धि गरेको हो ।

सिलिङ थप गरेसँगै हेटौंडा उपमहानगरपालिकाले १९ वटै वडाका लागि ३६ करोड ५० लाख रुपैयाँ बजेट पठाएको छ । चालु आर्थिक वर्षहरूमा उपमहानगरका वडाहरूले गरेको कार्यक्रम तथा योजनाहरुको कार्यान्वयनको आधारमा बजेट सिलिङ थप गरेर पठाइएको मेयर लामाले बताइन ।वडागत बजेट सिलिङ तोकिएर वडाहरुमा गएसँगै योजना छनोटको कार्यहरु चलिरहेको छ । वडामा टोल विकास संस्थामार्फत प्रतिनिधित्व रहने गरी योजना छनोटको कार्यहरू भइरहेको हेटौंडा ८ का अध्यक्ष रामकृष्ण थापाले बताए ।वडाहरुवाट बजेट सिलिङ आएपछि हेटौंडा उपमहानगरपालिकाले असार १० गते नगर परिषद् भेलाको आयोजना गरेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।वडा र विविध व्यवस्थापनका लागि वडागतरुपमा ५/५ लाख रुपैयाँको बजेट सिलिङ तयार पारिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले बताए । १९ वटै वडाका लागि वडा व्यवस्थापनतर्फ ९५ लाख रुपैयाँ र विविध व्यवस्थापनकातर्फ पनि ९५ लाख रुपैयाँको बजेट सिलिङ तयार पारिएको हो ।सिलिङ अनुसार वडा नम्बर १, १२, १३, १४ ,१५, १६ र १७ मा २/२ करोड १०/१० लाख बजेट सिलिङ तोकिएको छ भने वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० र ११ मा १ करोड ८५ लाख रुपैयाँ तोकिएको छ ।सिलिङअनुसार वडा नम्बर १८ मा २ करोड २५ लाख र वडा नम्बर १९ भने २ करोड ५० लाख रुपैयाँको बजेट सिलिङ तयार गरिएको उपमाहानगरले जनाएको छ ।३८ करोड ४० लाख रुपैयाँको बजेट सिलिङ रहेकोमा ३६ करोड ५० लाख रुपैयाँ बराबरको मात्र बजेट सिलिङ तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले बताए ।वित्तीय समानीकरण, राजश्व बाँडफाँट संघीय सरकार, राजश्व बाँडफाँट प्रदेश सरकार र आन्तरिक स्रोतमा २५/२५ प्रतिशत बजेट सिलिङ रहेको छ । जसमा वडागतरुपमा आन्तरिक स्रोतबाट ४६ लाख २५ हजार रुपैयाँदेखि ६५ लाख रुपैयाँको दरले बजेट सिलिङ तयार गरिएको छ ।

हेटौंडा- हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकले हेटौंडा-१५ मा विद्युतीय सवारी चार्ज गर्ने स्टेशन निर्माणको लागि जमिन दिने निर्णय गरेको छ ।पुर्वपश्चिम राजमार्ग भएर गुड्ने विद्युतीय सवारीलाई लक्षित गर्दै हेटौंडा- १५ को रातोमाटे लच्का नजिकै चार्जिङ स्टेशन निर्माणका लागि जमिन दिने निर्णय भएको हो ।वडा कार्यालय, स्थानीय बासिन्दा, सामुदायिक वन उपभोक्ता समूहले जमिन दिनका लागि समस्या नभएको निर्णयपछि उपमहानगरको कार्यपालिका बैठकले स्टेशन निर्माणको लागि करिब ५ कठ्ठा जमिन दिने निर्णय कार्यपालिका बैठकले गरेको वडा अध्यक्ष सुनिल मोक्तानले बताए ।नेपाल सरकारले देश भर ५१ वटा चार्जिङ स्टेशन निर्माण गर्दा मकवानपुरको लागि हेटौंडा-१५ को रातोमाटे लच्का छेउको ठाउँलाई उपयुक्त ठानेकाले कार्यपालिका बैठकबाटै जमिन दिने निर्णय भएको अध्यक्ष मोक्तानले बताए ।

चार्जिङ स्टेशनमा अहिले एक पटकमा ३ वटा सवारी चार्ज गर्ने क्षमता रहने बताइएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने स्टेशनको चार्जिङ क्षमता वृद्धि गर्दै लैजाने तयारी रहेको अध्यक्ष मोक्तानले बताए ।कार्यपालिका बैठकले हेटौंडा-१२ पुर्नवा आयुर्वेदिक अस्पताललाई पनि जग्गा दिने निर्णय गरेको छ । बैठले उपमहानगरको विकट क्षेत्रमा रहेर शैक्षिक गुणस्तर वृद्धिमा लागेका शिक्षकलाई भत्ता दिने, हेटौंडा उपमहानगरको प्रवक्ताको जिम्मेवारी हेटौंडा-१ का वडा अध्यक्ष सबिन न्यौपानेलाई दिने लगाएका निर्णय गरेको छ । बैठक हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here