जेठ, २४ , काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यही जेठ १८ र १९ गते स्थानीय तह सदस्यमा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दियो । अब पार्टीका नीति तथा कार्यक्रमहरुलाई सही ढंगले प्रयोग गर्नका लागि निर्देशिका बनाउँदैछ । नेपालमा ११ वर्षे सशस्त्र युद्ध गरेपछि संविधान सभाको पहिलो चुनावमा पहिलो पार्टी बनेर नेकपा माओवादी केन्द्रको उदय भएको थियो । तर दोस्रो संविधान सभाको चुनावमा पहिलो बनेको माओवादी केन्द्र यथास्थानमा त रहन सकेन नै साथमा दोस्रो ठूलो पार्टी समेत बन्न सकेन । दोस्रो संविधान सभाको चुनावमा माओवादी तेस्रो स्थानमा पुग्यो र अहिलेको स्थानीय तह सदस्यको निर्वाचनमा पनि तेस्रो स्थानमा नै सुरक्षित छ । पहिलो संविधान सभाको पहिलो चुनावमा जति जोसिलो भएर पार्टी उदाएको थियो, त्यो जोश, अहिलेको माओवादी पार्टीमा कमै देखिन्छ । जनताको चासो र समस्या समाधान गर्न नेता र राजनीतिक दलहरुले आनाकानी गरिरहेकै कारण काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारहरु राजनीतिक दलमाथि हाबी भएको धेरैदिन भएको छैन । स्वतन्त्र उम्मेदवारको उदयले राजनीतिक दलहरुमा हलचल त पैदा भएको छ नै साथमा आगामी दिनमा जनताबाट चुनिएका जनप्रतिनिधिले जनताकै काम नगर्ने हो भने आफ्नो अस्तित्व बाँकी रहँदैन भन्ने निश्चित भएको छ । त्यसैले पनि अबको ५ वर्ष स्थानीय तह, प्रदेश तह र संघीय सरकारमा चुनिएका र चुनिने जनप्रतिनिधिले आन्तरिक कुरालाई सल्ट्याउँदै जनसेवामुखी काम गर्न आवश्यक देखिन्छ । यसै सेरोफेरोमा नेकपा माआबादी केन्द्रका नेता युवा नेता प्रकाश विकल्प सँग न्युज एजेन्सी नेपालले संवाद गरेको छ । नेता प्रकाश विकल्पले नेकपा माओवादी केन्द्रले जीतेको स्थानीय तहमा अन्य भन्दा फरक तरिकाले काम गरिने बताउनु भयो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई समानरुपमा काम गराउनका लागि केन्द्रबाट निर्देशिका पठाउने तयारी पार्टीले गरिरहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रशिक्षणको उद्देश्य भनेको हामी कहाँ छौँ ? हाम्रो अवस्था म्यापिङ गर्ने त्यसको मुलुभुत कार्यभार थियो । हाम्रो अवस्था हामी यहाँ छौँ भन्ने थाहा पाइसकेपछि त्यसलाई के कार्यक्रम, नीतिमार्फत सम्बोधन गर्ने भनेर त्यो पत्ता लगाउने कुरा पनि थियो । नीति, कार्यक्रमलाई ठिक ढंगले कार्यान्वयन गरेर परिणाम कसरी निकाल्ने भनेर मोनिटरिङको इन्डिकेटरहरुको बारेमा पनि छलफल गर्ने कार्यक्रम थियो । हामी कहाँ छौँ भनेर अवस्था आइडेन्टीफाइ गरेका छौँ । केही निर्देशिकाहरु विकास गरेका छौँ । नेकपा (माओवादी केन्द्र) ले निर्देशिका पठाउँदैछ अब ।’

उहाँले माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीको विचार र सिद्धान्तअनुरुप काम गराउनका लागि निर्देशिका बनाएर पठाउन लागेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता विकल्पले जेठ १८ र १९ गते निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण समेत दिइसकेको उल्लेख गर्दै पार्टीका नीति तथा कार्यक्रमहरुलाई सही ढंगले प्रयोग गर्नका लागि निर्देशिका बनाउँदै गरेको जानकारी दिनुभयो । निर्देशिकाले नीति तथा कार्यक्रमहरुको कार्यान्वयन, परिणामहरुको अनुगमन र मूल्यांकन गर्ने सूचकहरु समावेश हुने उहाँले बताउनु भयो । उहाँले माओवादी केन्द्रबाट जनप्रतिनिधि बनेकाहरुले नागरिकको सहभागितामा नीति निर्माण गर्ने, नागरिकको सहभागितामा योजना निर्माण तथा बजेट निर्माण गर्ने र नागरिककै सहभागितामा कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई परिणामबिहीन जनप्रतिनिधि भएर बस्ने छुट नभएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘यी समस्यालाई हेण्डिल गर्ने नीति, कार्यक्रमका मार्गदर्शन पनि त्यसले गर्छ । त्यसको कार्यान्वयन र परिणामको अनुगमन, मुल्यांकन गर्ने संरचना र इण्डिकेटरहरु त्यसले निर्दिष्ट गर्छ । यसरी काम गरेर गयौँ भने हामीले पाँच वर्षमा के–के दिने त परिणाम ? मुलभुत रुपमा नेकपा(माओवादी केन्द्र)ले नागरिक उत्तरदायी, नागरिकको सहभागितामा नीति निर्माण गर्ने, नागरिकको सहभागितामा योजना निर्माण गर्ने, बजेट निर्माण गर्ने, नागरिककै सहभागितामा कार्यान्वयन गर्ने । अर्थात सम्पूर्ण हिसावले अबको स्थानीय तहको पहुँच भनेको चाहीँ सामुदायिक पहुँचमा हुनुपर्छ भन्ने लेभलमा अस्तिको कार्यक्रमले निर्दिष्ट गरेको छ र हामी त्यतातिरै उन्मुख छौँ । अब परिणामबिहीन जनप्रतिनिधि भएर बस्ने छुट नेकपा(माओवादी केन्द्र)का जनप्रतिनिधिलाई हुँदैन । पार्टीले मनिटरीङ गर्छ ।’

नेता विकल्पले माओवादी केन्द्रका जनप्रतिनिधिहरुले अनावश्यक तामझाम, खादा, माला तथा पिर्के सलामी नगर्ने बताउनु भयो । त्यसका निम्ति उनीहरुलाई रोक लगाइएको उहाँले जानकारी दिनुभयो । कार्य सम्पादनमा तथा जीवनशैलीमा सुशासन कायम गराउन पनि निर्देशिकाले निर्दिष्ट गराउने उहाँले बताउनु भयो । स्थानीय सरकारबाट विशेष गरेर पछाडी पारिएको क्षेत्र, वर्ग, लिङ्ग, गरिब, सुकुम्बासीहरु सबैभन्दा बढी लाभान्वित हुनुपर्नेमा पार्टीले जोड दिएको उहाँले बताउनु भयो । उहाँले स्थानीय तहले गरेको कामको प्रतिवेदन हरेक चार महिनामा पार्टीलाई बुझाउनुपर्ने व्यवस्था गरिएको पनि बताउनु भयो ।

‘हामीले पठाउने स्थानीय तह समन्वय निर्देशिका २०७९ छ । त्यसमा हामीले जनप्रतिनिधिका आचरणका कुराहरु पनि गरेका छौँ । उदाहरणका लागि अब नेकपा(माओवादी केन्द्र)का जनप्रतिनिधिहरुले अनावश्यक तामझाम गर्ने, अनावश्यक खादा, माला गर्ने, पिर्के सलामी । यस्ता कुराहरुलाई पार्टीले रोक लगाएको छ । सुशासनको प्रत्याभुति कसरी कार्यसम्पादनमा सुनिश्चित गर्ने, या जीवनशैलीमा कसरी सुशासन सुनिश्चित गर्ने भन्ने कुरा निर्देशिकाले निर्दिष्ट गरेको छ । तेस्रो कुरा भनेको उहाँहरुको मनिटरिङ के के इण्डिकेटरमा हामी गर्छौं त ? हामीले परिकल्पना गरे अनुसारको कार्यसम्पादन भयो, भएन । हामीले प्रत्येक दिनको कार्ययोजना बनाएर काम गर्नुप¥यो । तोकिएको समयमा काम भयो भएन मनिटरिङ मेकानिजमले त्यसलाई मनिटरिङ गर्छ । जीवनशैली नागरिकमैत्री हुनुप¥यो । नागरिकको अपेक्षा अनुसार हुनुप¥यो हाम्रा जनप्रतिनिधिको ।’ उहाँले भन्नुभयो– ‘नीति निर्माण, बजेट र कार्यान्वयनमा नागरिक सहभागिता हुनुप¥यो । विशेष गरेर पछाडी पारिएको क्षेत्र, वर्ग, लिङ्ग, गरिब, सुकुम्बासी इत्यादी मान्छेहरु सबभन्दा बढी लाभान्वित हुनुप¥यो । ती चिजहरु कार्ययोजना अनुसार भए कि भएनन् भन्नेकुरा मनिटरिङ मेकानिजमबाट फेरि ट्रयाकिङ मेकानिजम डेभलप गरेर चार÷चार महिनामा स्थानीय तहलाई पार्टीले प्रतिवेदन बुझाउनु पर्ने, त्यो चार÷चार महिनाको प्रतिवेदनलाई पार्टीले रिभ्यु गर्ने । लगायतका यस्ता चिजहरु हामीले डेभलप गरेका छौँ ।’

नेता विकल्पले संघ, प्रदेश र स्थानीय तहहरु परम्परागत पद्धतीबाट चलेकाले त्यसलाई एकपटक ‘रिफर्म’ गर्नुपर्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेता विकल्पले माओवादी केन्द्रले स्थानीय सरकारले गरेका कामको नागरिकस्तरबाट अनुगमन, मुल्यांकन र खबरदारी गर्न नागरिक निगरानी समूह गठन गर्ने पनि उहाँले बताउनु भयो । उहाँले पार्टीले जितको स्थानीय तहहरु उदाहरणीय र नमूना बनाउनका लागि पार्टी र स्थानीय तहले सहकार्य गर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘हाम्रा संघ, प्रदेश र स्थानीय तहहरु एकदम परम्परागत पद्धतीबाट चलेका छन् । त्यसमा रिफर्म गर्नुपर्छ । त्यो भनेको चाहीँ, हाम्रो तौरतरिकामा पनि रिफर्म गर्नुप¥यो । हाम्रो सोच्ने तरिकामा पनि रिफर्म गर्नुप¥यो । हाम्रो प्रणालीमा पनि रिफर्म गर्नुप¥यो । समाजवादमा पुग्नका लागि सामाजिक न्यायको प्रश्न अनिवार्य रुपमा हल हुनुपर्छ नेपालमा । सामाजिक न्यायको प्रश्न भनेको जातजाती, क्षेत्र, वर्ण, लिङ्गको जो हजारौँ वर्षदेखिको उत्पीडन छ, त्यसलाई सरकारका नीति, कार्यक्रमले सम्बोधन गर्नुपर्ने हुन्छ ।’

उहाँले सामाजिक न्यायको प्रश्न समाजवादमा पुग्नका लागि अनिवार्य हल हुनुपर्ने भन्दै त्यस खालका नीति नियम बनाउन आवश्यक रहेको बताउनु भयो । नेता विकल्पले माओवादी केन्द्रले अहिले हरेक पालिकामा नागरिक निगरानी समूह बनाएर काम अघि बढाउने योजना बनाएको बताउनु भयो । माओवादीले जितेका स्थानीय तह पालिका १२२ वटामा नमूना काम गरेर देखाउने बताउनु भयो । ‘यी खालका नीति, कार्यक्रम बनाउने र अर्को एउटा माओवादी केन्द्रले के गर्दैछ भन्दा हरेक पालिकामा नागरिक निगरानी समूह बनाउनु प¥यो । नागरिकले स्थानीय सरकारले गरेका कामको अनुगमन गर्ने, मूल्यांकन गर्ने, गलत ग¥यो भने खबरदारी र कारबाही सम्मको अधिकार दिएर नागरिक निगरानी समूह बनाउनु प¥यो । हाम्रा जनप्रतिनिधिहरुले, हाम्रो पार्टीले जितेका पालिकाहरुले भन्ने पनि हामीले कन्सेप्ट अगाडी सारेका छौँ । हाम्रा जनप्रतिनिधि इमान्दार हुनुप¥यो ।’ उहाँले भन्नुभयो, ‘निष्ठावान र प्रतिवद्ध हुनुप¥यो समाजप्रति, नागरिकप्रति कि हामीले गलत ग¥यौँ भने आउ ढुङ्गामुढा हान, लखेट । हामीलाई कालोमसो दल भनेर आह्वान गर्न सकियोस् । नेकपा (माओवादी केन्द्र)ले जितेका पालिकाहरु १२२ वटा छन् । ती १२२ वटा पालिका उदाहरणीय र नमूना बन्नुपर्छ भन्ने दिशातर्फ हामीले काम गरिरहेका छौँ । पार्टी र स्थानीय तहको सहकार्य र समन्वयमा ।’

उहाँले आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)लाई पहिलो पार्टी बनाउने सुनिश्चिततासहित कार्ययोजना अघि बढाइएको उल्लेख गर्नुभयो । स्थानीय तह निर्वाचनको परिणाम हेर्दा नागरिकहरुले माओवादी केन्द्रलाई माया गरिरहेको र अझ विश्वास बढाएको स्पष्ट भएको बताउनु भयो । उहाँले स्थानीय तहमा माओवादीले पाएको जनमतलाई संघीय निर्वाचनसम्म डबल बनाउने कार्यदिशामा काम भइरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘जुन हामीले जनमत प्राप्त गरेका छौँ १२२ सिट जितेर । यो भनेको फेरिपनि नागरिकले नेकपा(माओवादी केन्द्र)लाई माया गरिरहेका छन् । अझ विश्वास बढाएका छन् भन्ने नै देखिन्छ । अब यो जनमतलाई हामी कम्तिमा पनि डबल गर्नेगरी त्यो कार्ययोजना बनाएर पार्टी अगाडी गइरहेको छ । आगामी संघीय र प्रदेशको निर्वाचनसम्म पुग्दाखेरी कम्तिमा पनि माओवादीको जनमत यसलाई कम्तिमा डबल बनाउने गरी पार्टी अगाडी बढीराखेको छ । त्यसरी जाँदा हामी कम्तिमा पनि पहिलो पार्टी बन्ने हाम्रो प्रयत्न हुन्छ, नभएपनि संघ र प्रदेशको निर्वाचनमा हामी दोस्रो पार्टी बन्ने कुराको सुनिश्चिततासहित त्यो कार्ययोजनासहित हामी अगाडी जाँदैछौँ ।’

उहाँले काठमाडौँ महानगरपालिकामा बालेन्द्र साह र धरान उपमहानगरपालिकामा हर्क राईले स्वतन्त्र रुपमा जित्नु क्रान्तिकै ‘बाइप्रोडक्ट’ भएको टिप्पणी गर्नुभयो । पार्टीहरु समयानुकुल गतिशिल हुन नसकेमा आगामी दिनमा पनि साह र राईजस्तै स्वतन्त्र उम्मेदवारले जित्ने उहाँको भनाई छ । माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु नागरिकमैत्री र सुशासनमैत्री हुनुपर्ने उहाँले बताउनु भयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको जनमत बढीरहेको उल्लेख गर्दै यो परिवर्तनकारीका लागि चुनौति भएको बताउनु भयो । न्युज एजेन्सीसँग कुरा गर्दै नेता विकल्पले राजेन्द्र लिङदेनमा व्यक्ति राम्रो भएपनि सिद्धान्त र विचार र दृष्टिकोण पश्चगामी भएको बताउनु भयो । उहाँले संसार जहिल्यै अग्रगामीतर्फ नै अग्रसर हुने भन्दै पश्चगामी विचार, सोचको कुनै तुक नरहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक दलहरुले गरेको कमजोरीका कारण नै राजेन्द्र लिङदेनको पार्टीप्रति जनमत बढेको बताउनु भयो ।

‘बालेन र हर्क राईको प्रशङ्ग चाहीँ मैले त्यो कार्यक्रममा कुन अर्थमा लिएको थिएँ भन्दा मुलभुत रुपमा बालेन र हर्क राईहरुको राजनीतिमा जो स्थानीय तहमार्फत जो उपस्थिति भएको छ । यसमा कहीँ न कहीँ राजनीतिक दलहरुका कमजोरीको फाइदा त्यसरी उठाए कि ? भनेजस्तो पनि मलाई लागेको कुरा भयो । बालेन र हर्क राईको उपस्थिति भनेको दलहरुको गति अलिकति कम भयो कि भनेजस्तो अर्थमा पनि मैले त्यहाँ भन्न खोजेको । हामी राम्रो भएनौँ भने, हामीले राम्रो गर्न सकेनौँ भने पार्टीको भविष्य के हुन्छ ? किनभने तपाईहरुको अनुहारमा पार्टीको अनुहार प्रतिविम्बित हुन्छ । तपाईहरुले राम्रो काम गरे पार्टीको अनुहार चम्किने कुरा हुन्छ । तपाईहरुले राम्रो काम गर्न नसके पार्टीको अनुहार धमिल हुन्छ । त्यसकारणले जागिरे मानसिकताबाट मुक्त भएर काम गर्नुप¥यो । जागिरेहरुबाट देश बन्दैन । राम्रो काम गर्नको लागि मैले प्रेरणाको रुपमा बालेन र हर्क राईको कुरा ल्याएको हो । एउटा युवाको हिसावले, मधेसमाथि लामो समय राज्यसत्ताबाट उत्पीडन भएको हिसावले र आदिवासी जनजातीमाथि सामन्ती राजतन्त्रात्मक व्यवस्थाले उत्पीडन गरेको हिसावले यो कोणबाट बालेन र हर्क राईको उपस्थिति फेरि क्रान्तिकै एउटा बाइप्रोडक्ट हो । जनयुद्ध, जनआन्दोलन, प्रचण्डहरुको सपनाकै बाइप्रोडक्ट हो भन्ने अर्थमा मैले त्यहाँ ल्याएको तर सारमा बालेन र हर्क राईको कुरा त्यहाँ ल्याउन खोजेको चाहीँ हामीले राम्रो काम गर्नुपर्छ । हामी गतिशिल हुनुपर्छ । हामी नागरिकमैत्री हुनुपर्छ । हामी सुशासनमैत्री हुनुपर्छ । अरुले भन्दा भिन्न काम माओवादी केन्द्रका जनप्रतिनिधिले गर्नुपर्छ भन्ने अर्थमा उहाँहरुको नाम लिएको हो ।’ उहाँले भन्नुभयो – ‘राजेन्द्र लिङदेनको पनि मैले प्रशङ्ग उठाएको छु, मेरो प्रशिक्षणमा । राजेन्द्र लिङदेनको जनमत बढ्ने कुरा आम परिवर्तनकारी मान्छेहरुका लागि चुनौतिको विषय हो । लिङदेन व्यक्ति राम्रो हुनुहोला तर उहाँले जो विचार बोकेर, दृष्टिकोण बोकेर हिँड्नुभएको छ । संवैधानिक राजसंस्था पुनःस्थापित गर्ने भन्नुभएको छ । राजसंस्था पुनःस्थापित गर्ने भनेको स्वतः हिन्दु राज्य हुँदाको कुरा हो । किनभने हिन्दु धर्मको बाइप्रोडक्ट हो नि राजसंस्था भनेको । उहाँले बोकेको मुद्दाको हिसावले उहाँ ठिक हुनुहुन्न । त्या पश्चगमन हो । दुनियाँ त सधैँ अगाडी बढ्छ । पश्चगामीले जित्ने हो भने त ढुंगे युगको मानव जाती त यहाँसम्म आइपुग्ने थिएन । अग्रगमनले जित्छ । त्यसकारण राजेन्द्र लिङदेनको जनमत बढ्ने कुरा चाहीँ चुनौतिपूर्ण हो । कतै हाम्रा कमजोरीले गर्दा, कतै हामीले नागरिकबाट डिट्याच हुँदाखेरी राजेन्द्र लिङदेनहरु खालका चाहीँ पात्र र प्रवृत्तिको जनमत बढिराखेको हो कि भन्ने अर्थमा मैले कुरा गरेको थिएँ ।’

माओवादी केन्द्रले विगत ५ वर्षमा पार्टीका जनप्रतिनिधिहरुले उत्कृष्ट काम गर्न नसकेको र पार्टीले पनि समन्वय नगरेको भन्दै आगामी दिनमा भने जनप्रतिनिधिहरुसँग पार्टीको सम्बन्ध सुदृढ बनाउने बताएको छ । यसै अन्तर्गत माओवादी केन्द्रले जेठ १८ र १९ गते स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुसँग छलफल गरेको थियो । पार्टीको विचार, सिद्धान्त र नागरिक अपेक्षा अनुसार जनप्रतिनिधिलाई काम गराउन र विकासका लागि जनप्रतिनिधिहरुको बुझाइमा एकरुपता ल्याएर काम गराउने माओवादी केन्द्रको योजना छ । नयाँ रुप र मोडेल अघि सारेर हिँडेको माओवादीको कदम जनमैत्री र जनापेक्षाअनुरुपको हुन्छ वा हुँदैन त्यो भने भविष्यको गर्भमा सिमित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here