जेठ, २३, काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले पार्टीका मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ ।
आईतवार बसेको पार्टी सचिवालयको २६ औँ बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बताउनु भयो । उहाँले ६ महिनाअघि पार्टीले मन्त्रीमण्डलका लागि पठाएका नेताहरुलाई बोलाएर नयाँ टोलीलाई मन्त्रीमण्डलमा पठाउने गृहकार्य भइरहेको बताउनु भयो । शुरुवाती चरणमा पठाइएको मन्त्रीहरुलाई मन्त्री बन्न जाने क्रममा नै ६ महिनामा हेरफेर हुने कुरा बताएकोले यस कुरामा पहिल्यै मन्त्रीहरु मानसिक रुपले तयार भइसकेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले मन्त्री हेरफेर गर्ने तयारी गरेका छौँ । ६ महिनाअघि जुन टिमलाई हामीले मन्त्रीमण्डलका लागि पठाएका थियौँ । त्यतिबेला नै पार्टीका अध्यक्ष कमरेड माधवकुमार नेपालले ६ महिनापछि आफ्नो कार्य सम्पादन गरेर देश र जनताको पक्षमा उच्च मनोवलका साथ काम गरेर पार्टीको शिर उच्च राख्नुस् र ६ महिनापछि फर्किनुपर्छ भनेर भन्नुभएको थियो । जुन मन्त्रीहरु अहिलेको मन्त्रीमण्डलमा हाम्रो पार्टीको तर्फबाट हुनुहुन्थ्यो । उहाँहरु ६ महिनाअघि नै मानसिक रुपले फर्किनुपर्छ कुनैदिन भन्ने तयारीमा हुनुहन्थ्यो भने हामीले अहिले चर्चा गरिरहेको कुरा अर्को टोलीलाई पठाउन छलफल गरिरहेका हौँ । पार्टीको सचिवालयको २६ औँ बैठकमा यो विषयले प्रवेश पायो ।’
उपमहासचिव तुलाधरले काम गर्नेहरुका लागि समयसीमाको कुनै महत्व नहुने र ६ महिनामा नै पर्याप्त काम गर्नसक्ने भन्दै उहाँले समय कम भयो काम भएन भन्नुको कुनै अर्थ नरहेको बताउनु भयो । उहाँले ६ महिनाको छोटो समय नै जनताको लागि जनचाहना अनुसारको काम गर्न पर्याप्त रहेको बताउनु भयो । उपमहासचिव तुलाधरले भर्खरै बिद्रोह गरेर आएको नयाँ पार्टीले छोटो समयमा परिणाममुखी कामहरु देखाएर जनताको मन जित्नुपर्ने जिम्मेवारी रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले तुलनात्मक रुपले अघिल्लो मन्त्रीहरुले नै राम्रो गरेका छन् भन्ने कुराहरु रहँदा पनि नयाँ नेताले देश र जनतालाई हालका मन्त्रीको भन्दा राम्रो काम गर्ने दाबी गरिरहँदँ नयाँ व्यक्तिलाई जनमुखी काम गर्ने अवसर प्रदान गरिएको बताउनु भयो । उहाँले नयाँ मन्त्रीले पहिला गरेका राम्रा कामलाई निरन्तरता दिएर जनचासो र जनसरकारका मुद्दाहरुलाई सम्बोधन गर्नेमा विश्वस्त रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री क्याबिनेट सिस्टममा सकेसम्म एउटा मन्त्री स्वाभाविक प्रक्रियाबाट जाने हो भने ५ वर्षका निम्ति बसेर काम गर्न पाउने हो भने उसले प्रचुर सम्भावनका साथ कामहरु गर्न सक्थ्यो । तर हाम्रोमा प्रधानमन्त्रीकै ५ वर्ष नहुने र बेलाबखतमा विविध कारणले ६÷८÷१०÷१२ महिना त्यो अभ्यासमा हामीले लिइरहेका छौँ । यसमा काम गर्नेहरुलाई एक वा ६ दिन पनि पर्याप्त हुन्छ । त्यो सिद्धान्तअनुसार चल्नुपर्छ । काम गर्न पाइएन भनेर बहानाबाजी गर्नेलाई ५ वर्ष पनि पुग्दैन । अहिलेका विभिन्न कारणले गर्दा यी कुरालाई सामान्यरुपमा लिनुपर्छ । हामीजस्तो बिद्रोह गरेर भर्खर आएको नयाँ पार्टीले छोटो समयमा परिणाममुखी कामहरु देखाएर जनताको मन जित्नुपर्नेछ । तुलनात्मक रुपले अघिल्लो मन्त्रीहरुले नै राम्रो गरेका होलान्, तर त्यो भन्दा पनि राम्रो गर्नसक्ने सम्भावनाका अरु मन्त्री पनि हुनसक्छन् । त्यसैले अरु साथीलाई पनि त्यो खालको चान्स दिन सकियो भने जनचासो र जनसरकारका मुद्दाहरुलाई सम्बोधन हुन्छ कि भन्ने हाम्रो अनुमान हो ।’
उपमहासचिव तुलाधरले अहिलेका मन्त्रीहरुले कामको हिसावमा मिश्रित परिणाम रहेको बताउनु भयो । उहाँले पार्टीले मन्त्रीहरुले गरेका कामको मूल्यांकन गर्ने र आफूले गर्ने भनेका कुराहरु पूरा गर्न सके÷नसकेको बारेमा पनि मन्त्रीहरुले स्वमूल्यांकन गर्नुपर्ने बताउनु भयो । मन्त्रीहरुले गरेका कामहरुको बारेमा पार्टीले घनिभुत छलफल गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘उहाँहरुको पर्फमेन्स मिश्रित खालको छ । आहा भन्ने खालको पनि मिडियाले प्रचार गरेको हिसावले भन्न सकिएला, जति हुनुपर्ने हो त्यति भएन भन्ने पनि सकिएला, उहाँहरुले स्वमूल्यांकन गरेर पनि बताउनु होला । हामी सचिवालयमा यसको बारेमा घनिभुत छलफल गर्नेछौँ ।’
उपमहासचिव तुलाधरले एकीकृत समाजवादीका मन्त्रीहरुले गर्ने काम मोडेल र स्वागतयोग्य हुनुपर्ने बताउनु भयो । समाजवादी पार्टीका मन्त्रीहरुले गरेको काम अरु पार्टीका मन्त्रीहरुले पनि अनुकरण गर्नुपर्ने हुनुपर्ने बताउनु भयो । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको रुपमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीको रुपमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा मन्त्री भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा सिफारिस गरेको छ । यसअघि यी मन्त्रालयमा क्रमशः प्रेमबहादुर आले, रामकुमारी झाँक्री, बिरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ, भवानीप्रसाद खापुुङ हुनुहुन्थ्यो ।








