प्यूठान,१६ जेठ ।
ऐरावती गाउँपालिका-१ दाङवाङमा भरुवा बन्दुकको गोली लागेर एकजनाको ज्यान गएको छ ।सिकार खेल्न जंगल गएका ३४ वर्षीय द्रोणबहादुर आलेमगरको आइतवार गोली लागेर मृत्यु भएको हो ।दोबाटो सामुदायिक वनको डाँडाथरीमा सिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञान बहादुर नेपालीले मृगलाई हानेको गोली आलेमगरको टाउकोमा लागेको प्रहरीले जनाएको छ ।घटना आइतबार दिउँसो भए पनि प्रहरीलाई राती मात्र खवर आएको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।प्रहरीले सिकार खेल्ने क्रममा प्रयोग भएको २ नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको छ ।त्यसैगरी बन्दुक हान्ने ज्ञानबहादुर नेपालीसहित दस जनालाई प्रहरीले पक्रेको छ ।पक्राउ पर्नेमा ओमबहादुर पुन, कृष्णबहादुर पुन मगर, भुपबहादुर पुन मगर, टिकाराम पुन, ड्यामबहादुर पुन, झविन्द्र थापा, विशाल घर्ती, झिमरुक गाउँपालिका ४ बस्ने गुञ्जबहादुर पुन रहेका प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । उनका अनुसार ४ जना व्यक्ति फरार रहेको र उनीहरुको खोजी भइरहेको छ ।








