काठमाडौं,१५, वैशाख ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।बिहीबार वक्तव्य जारी गर्दै देउजाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण गर्न तथा लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गर्न कांग्रेससहित पाँच दलले गठबन्धन गरेको उनले बताएका छन् ।एउटा उम्मेदवार बन्दा अर्को उत्तिकै योग्य साथीले अवसर नपाएको स्थितिप्रति आफू जानकार रहेको भन्दै उनले भनेका छन्, ‘पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’तर कांग्रेसका नेता कार्यकर्ताले पार्टीको निर्णय र गठबन्धनको सहमति विपरित स्वतन्त्र उम्मेदवारी दर्ता गराएको भन्दै देउवाले विज्ञप्तिमा भनेका छन्, ‘आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफूले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिई दिनु हुन हार्दिक अपिल गर्दछु ।’








