काठमाडौं,चैत,१९ ।
सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन भएको छ । प्रधानमन्त्री शनिबार भारत भ्रमणमा रहेका शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको उद्घाटन गरेका छन् ।सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रसारणलाइन करिब ३ वर्ष ढिला गरी गत २ फागुनमा यो प्रसारणलाइन चार्ज गरिएको थियो । नेपाल सरकारको लगानी र भारतीय निर्यात-आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा यसको निर्माण सकिएको हो ।
सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारणलाइनको लम्बाइ ९० किलोमिटर र टावरहरुको संख्या ३०२ वटा छ ।सोलु करिडोर प्रसारणलाइन आयोजना अन्तर्गत तिङ्लामा १३२/३३ केभी, ३० एमभीए र ३३/११ केभी, ८ एमभीए क्षमताको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ २०७६ बाट सञ्चालनमा छ । अहिले तिङ्ला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत आपूर्ति हुन थालेको छ ।
प्रसारणलाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ चैतमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७३ को असोजबाट कार्यान्वयनमा आएको थियो । तर, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयबाट भएको अवरोध, जटिल भौगोलिक अवस्था लगायतका कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो ।सोलु नदी बेसिनमा निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि यो महत्वपूर्ण प्रसारण आयोजना हो । यो लाइन बनेपछि बर्खाको समयम पूर्ण क्षमतामा चल्न नसकेको २३.५ मेगावाटको सोलु खोला र निर्माणाधीन जलविद्युत आयोजनाको प्रसारण पूर्वाधार अभावमा विद्युत् प्रवाहको समस्या समाधान भएको छ ।
आयोजनाहरुको विद्युत् सोलु करिडोरमा प्रवाह भएपछि मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङलगायतका जिल्लामा आपूर्ति दिन सकिन्छ भने बढी भएको विद्युत ढल्केबर सबस्टेसनबाट भारततर्फ निर्यात गर्न पनि सजिलो भएको छ ।
तिङ्ला सबस्टेसनबाट विद्युत आपूर्ति दिइने हुँदा अब सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विद्युत सेवा भरपर्दो र गुणस्तरीय हुने साथै चुहावट पनि घट्ने अपेक्षा छ ।२३.५ मेगावाटको सोलु खोलासहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु खोला (दूधकोसी) ८२ मेगावाटको तल्लो सोलु खोला लगायतका जलविद्युत आयोजनाको विद्युत् तिङ्ला सबस्टेसनमा जोडिने छ । यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत आयोजनासँग ३२५ मेगावाटको विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) गरेको छ ।








