११ चैत, काठमाडौं ।

बक्सिङलाई मार्सल आर्टको सबभन्दा जोखिमपूर्ण खेल भनिन्छ । टाउकोमै प्रहार गर्नुपर्ने हुँदा चोट लाग्ने खतरा पनि उत्तिकै हुन्छ । नेपालकी उदयीमान बक्सर सुस्मा तामाङको नजरमा यो खेल हेर्दा जति खतरनाक देखिन्छ, त्यति नै प्राविधिक छ । रणनीतिक कला अझ बढी छ ।उनका अनुसार बक्सिङ शारिरीक तथा मानसिक रुपमा एकदमै परिपक्क भएर खेल्नुपर्ने खेल पनि हो । दया र मायाले यो खेल चल्दैन । प्राविधिक र रणनीतिक रुपमा सशक्त हुनुपर्छ । ‘खेलाडीले हान्ने हरेक पन्चमा रणनीति हुन्छ,’ सुस्मा भन्छिन्, ‘मानसिक रुपमा जो बलियो हुन्छ, खेलमा त्यही हाबी हुन्छ ।’

१९ वर्षीया सुस्माले बक्सिङ खेल्न थालेको तीन वर्षमात्र भयो । अझै पनि रिङमा उत्रिनु अघि आफूले आफूलाई मानसिक रुपमा बलियो बनाउनुपर्ने उनको अनुभव छ । सुस्मा भन्छिन्, ‘रिङमा उत्रिनु अगाडि नै हामी मानसिक रुपमा तयार हुनुपर्छ । खेलको नतिजामै त्यसले भर पार्छ ।’सुस्मा चार दिदी बहिनीमध्ये कान्छी हुन् । एसईई परीक्षा दिएपछि खाली रहेको समयमा उनले रिङमै गएर नवीन तेन्दुलकरसँग बक्सिङ सिकेकी उनले आठौं राष्ट्रिय खेलकुदमा ४८ केजीमुनि स्वर्ण जितेपछि राष्ट्रिय स्तरमा परिचित भइन् ।

नक्साल नेपाली बक्सिङको उद्गम थलो हो । लक्ष्मण शमशेर थापाले २०१८ सालमा नक्सालस्थित आफ्नै घरमा कार्यालय रहने गरी नेपाल बक्सिङ संघको स्थापना गरेका थिए । उनैले सञ्चालन गरेको नक्साल बक्सिङ क्लब खेलाडी उत्पादनको मुख्य केन्द्र जस्तै बनेको छ, जसको अर्को प्रमाण हुन् सुस्मा ।२५ असार २०७५ मा पहिलो पटक रिङमा उत्रिएकी उनले पाका प्रतिस्पर्धी पाएकी थिइन् । त्यही खेल उनका बक्सिङ करिअरको ‘टर्निङ पोइन्ट’ भयो । प्रकाश दाहाल स्सृति बक्सिङमा पहिलो अनुभव बटुलेकी उनले २०७५ पुसमा आयोजित गणेशमान सिंह स्मृति बक्सिङको छनोट प्रतियोगितामा लगातार तीन खेल जितेपछि मुख्य प्रतियोगिताका लागि छानिइन् । २०७६ मा भएको गणेशमान सिंह प्रतियोगितामा जानकी थापा लगायतका प्रख्यात र ठूला उमेरका बक्सरहरुसँग सजिलो जित निकालिन् ।

आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेपछि सुस्मामाथि जिम्मेवारी पनि थपिएको छ । प्रतिस्पर्धा बढेको छ, प्रतिस्पर्धीहरु पनि क्रमशः थपिँदै छन् । ‘सुरुमा खेल्न थाल्दा कसरी च्याम्पियन बन्ने भन्ने हुँदो रहेछ । एकपल्ट जितेपछि यो स्थान छोड्नु हुँदैन भनेर अझ धेरै मिहिनेत गरिरहेको छु, उनले भनिन्, ‘आफैंले आफैंलाई मोटिभेट गरिरहन्छु । मेरो प्रेरणा म आफैं हो ।

आठौं राष्ट्रिय खेलकुदलाई १३औं दक्षिण खेलकुद (साग)को छनोट आधार मानिएको थियो । स्वर्ण जितेपछि सुस्मा स्वतः राष्ट्रिय टोलीमा हुनुपर्ने थियो । तर, अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न तोकिएको उमेर उनको थिएन । बक्सिङमा १८ वर्षको उमेरपछि मात्रै इलाइट प्रतियोगिता खेल्न पाइन्छ । त्यसैले उनले साग खेल्न पाइनन् । भन्छिन्, ‘मिहिनेत पुग्दा पुग्दै पनि खेल्न नपाउनु खेलाडीको जीवनमा एक नमिठो क्षण हुने रहेछ । यो मैले अनुभव गरें ।’गत माघमा अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन उनलाई फेरि ‘भाग्य’ले ठग्यो । उज्वेकिस्तानमा भएको यू–२२ खुला बक्सिङका लागि प्रस्थान गर्ने दिन कोरोना संक्रमण भएको पुष्टि भएपछि उनले प्रतियोगिता गुमाइन् ।

पोल्यान्डमा भएको युथ वर्ल्ड च्याम्पियनसिप उनले खेलेको एक मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता हो । नेपालको महिला बक्सिङमा उनले इतिहास बनाएको पनि त्यही प्रतियोगितामा हो । लिथुवानियाकी खेलाडीलाई पराजित गरेपछि विश्वस्तरीय प्रतियोगितामा एउटा खेल जित्ने कीर्तिमान उनको नाममा आयो ।क्वाटरफाइनलको खेल युरोपियन च्याम्पियन नटालिया डोमिल्कसँग पर्यो । ‘सोचाइ मेडल ल्याउने थियो । म नेपालको च्याम्पियन थिएँ, ऊ त युरोपकै रहेछ,’ उनले थपिन्, ‘युरोपकै च्याम्पियन भन्ने थाहा पाएपछि आफैंदेखि गर्व लाग्यो ।’सुस्माले तीन राउण्डसम्म टिकेर टक्कर दिइन्, जुन सायद नटालियाले अपेक्षा गरेकी थिइनन् । जितेपछि महादेशीय च्याम्पियनले हात मिलाइनन् अर्थात् खेल भावना प्रस्तुत गरिनन् । ‘खेलमा मैले हारें । जिते पनि उनको मप्रतिको व्यवहार असभ्य थियो,’ त्यो क्षण सम्झिंदै सुस्माले भनिन् ।

अघिल्लो साता आयोजित राष्ट्रियस्तरको महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा ४८ तौल केजीमा स्वर्ण जितेपछि सुस्माले थाइल्यान्डमा हुने थाइ ओजन बक्सिङको टिकट पक्का गरेकी छन् । दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिताको अवसरलाई उपलब्धिमा रुपान्तरण गर्न राम्रो तयारी गर्ने योजनामा रहेकी उनी भन्छिन्, ‘मेरो खेलले राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य छ । विदेशी खेलाडीलाई जित्ने लक्ष्य राखेर खेलिरहेकी छु ।’यतिमात्र होइन, व्यवसायिक बक्सर बनेर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा राख्ने उनको इच्छा छ ।विदेशी एमेच्योर खेलाडीमा उनले मन पराउने र पछ्याउने एन्डि क्रोचलाई हो । कोर्निलोको परिपक्क खेल उनलाई मन पर्छ । अमेरिकन बक्सर फ्लोइड मेओएदर करिअरबारे थाहा पाएर आफू एकदमै प्रेरित भएको पनि उनले बताइन् ।

बक्सिङमा महिला प्रशिक्षकदेखि अफिसियलहरु निकै कम हुन्छन् । बक्सिङमा करिअर बनाउन चाहने खेलाडीका लागि यो निकै ठूलो चुनौती रहेको सुस्माले बताइन् । ‘अन्य बाहिरी देशमा महिला प्रशिक्षक हुन्छन्, अफिसियल हुन्छन्, फिजियो, मनोवैज्ञानिक प्रशिक्षक, मसाजर फरक हुन्छन््, हाम्रोमा एक जना प्रशिक्षक मात्रै हुन्छ,’ पुरुषसँग प्रशिक्षक गर्दा कहिलेकाहीं आफ्नो समस्या भन्न अप्ठ्यारो भएको महसुस हुने उनको अनुभव छ ।स्नातकमा पत्रकारिता र ऐच्छिक अंग्रेजी विषय लिएर पढिरहेकी सुस्मा नेपाली बक्सरको स्तरोन्नतिमा ध्यान दिन आवश्यक देख्छिन् । सीमित अन्तर्राष्ट्रिय सहभागिताको दायरा फराकिलो बनाउनुपर्ने उनको जोड छ । ‘उमेर समूहदेखि नै खेलाडीलाई विदेशमा खेल्ने वातावरण बनाउन सक्नुपर्छ,’ उनले थपिन्, ‘एक मात्र अन्तर्राष्ट्रिय खेल्दा त मलाई हिम्मत बढेको अनुभव हुन्छ भने धेरै खेलें भने त पदक जित्न सक्छु जस्तो लाग्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here