३ फागुन, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पहिलोपटक संसदीय समितिको बैठकमा सहभागी भएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा अध्यक्ष तिमिल्सिना सहभागी भएका हुन् ।
सामान्यतया संसद बैठकको अध्यक्षता गर्ने अध्यक्ष तथा उपाध्यक्ष ‘मिनी संसद्’का रुपमा रहेको समितिहरूको बैठकमा सहभागी हुने प्रचलन छैन । तर, अध्यक्ष तिमिल्सिनाले समयअनुकुल हुँदा समितिको बैठकहरूमा सहभागी हुने सोचमा रहेको बताएका उनको सचिवालयले जनाएको छ ।
विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा सार्वजनिक सेवा प्रशासन विधेयकमाथि छलफल भइरहेको थियो । विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले अध्यक्ष तिमिल्सिनालाई बैठकमा स्वागत गर्दै समितिले राष्ट्रिय सभामा आएका विधेयकमाथि चार चरणमा छलफल गरी प्रतिवेदन सभा समक्ष पेश गर्ने गरेको बताए ।
बैठकमा अध्यक्ष तिमिल्सिनाले विधायन व्यवस्थापन समितिले चार वर्षमा प्रभावकारी ढङ्गले काम गरेको भन्दै प्रशंसा गरे ।








