गौर- जिल्ला जनगणना कार्यालय रौतहटले शुक्रबार जिल्ला समन्वय कार्यालय रौतहटको कार्यकक्षमा गरेको पत्रकार सम्मेलन सम्पन्न भएको छ । गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको थियो । पत्रकार सम्मेलनमा जिल्ला जनगणना अधिकारी देवनाथ यादवले, जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने बताउनु भएको छ ।
केन्द्रीय तथ्यांक विभागको कार्यतालिका अनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्ने अधिकारी यादवले जानकारी गराउदै, गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिने तथा उनीहरुको तालिमपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने बताउनु भएको छ ।
रौतहट जिल्लाको ५ स्थानीय तहमा राष्ट्रिय जनगणना २०७८ सफल बनाउने उदेश्यले स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । नेपालको १२ आंै तथा संघीय राज्यको पहिलो हुन् लागेको राष्ट्रिय जनगणना २०७८ को अभियान सफल बनाउन तथा जनगणनाबाट कोहि छुट्न नपाओस भन्ने लक्ष्यले स्थानीय जनगणना कार्यलय स्थापना गरि कार्य शुरु गरिएको छ ।
मेरो गणना, मेरो सहभागिता भन्ने मूल नाराका साथ हुन् गैरहेको राष्ट्रिय जनगणनाको लागि गौर नगरपालिकाको गौर , बौधीमाइ नगरपालिका , कटहरिया नगरपालिकाको कटहरिया , गरुडा नगरपालिकाको गरुडा र चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा स्थानीय प्रमुखको उपस्थतिमा कार्यालय स्थापना गरिएको अधिकारी यादवले जनाएको छ ।
गौरमा स्थापना गरिएको कार्यालयबाट गौर , इश्नाथ नगरपालिका, राजदेवी नगरपालिका , दुर्गा भगवती गाउपालिका , यमुनामाइ गाउपालिका ,चन्द्रपुरमा स्थापना भएको जनगणना कार्यालयबाट चन्द्रपुर , गुजरा नगरपालिका , वृन्दावन नगरपालिकाको तथ्यांक संकलन गरिने छन् ! बौधीमाइ नगरपालिकामा स्थापना भएको कार्यालयबाट बौधीमाइ , मौलापुर ,परोहा नगरपालिका , राजपुर नगरपालिका , कटहरिया नगरपालिकाको कटहरियामा स्थापना गरिएको कार्यालयबाट कटहरिया नगरपालिका , फतुवा विजयपुर ,देवाही गोनाही नगरपालिकाको गणना गरिने अधिकारी यादवले जनाए ।उक्त कार्यक्रममा रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादव लगाएत बिभिन्न मिडियामा कार्यरत संचारकर्मीको उपस्थिति समेत रहेको थियो ।








