२०७८ २० भदौ ।
‘त्रुटिपूर्ण’ डिजाइनले यहाँस्थित चन्द्रौटा–कृष्णनगर सडकखण्ड अलपत्र परेको छ । निर्माण सकिनुपर्ने बेलासम्म ४० प्रतिशत मात्र काम पूरा भएको छ । २०७५ माघमा सुरु भएर २०७८ जेठमा निर्माण सकिनुपर्थ्यो । अहिले सडक अलपत्र परेपछि यात्रुले सास्ती खेपिरहेका छन् ।सडक स्तरोन्नति गर्न काम भइरहँदा ठाउँठाउँमा खाल्डाखुल्डी बनेका छन् । स्ल्याब कल्भर्ट बनाइएको ठाउँमा ठुल्ठूला खाल्डाखुल्डी छन् । स्ल्याब कल्भर्टका कारण छेउबाट सवारीसाधन चलाइएको छ । बर्खाले खाल्डोमा पानी जमेर हिलाम्य छ । साना खाल्डा ठूला बनेका छन् ।हिलाम्य बाटोमा मालवाहक ट्रक आउजाउ गर्दा बाटो धस्सिएर ठुल्ठूला खाल्डा बनेका हुन् । कतिपय गाडी हिलो र खाल्डोमा फस्ने गरेका छन् । यसले दुर्घटनाको जोखिम बढाएको छ । ‘ठाउँठाउँमा बाटो धस्सिएर भत्किएको छ,’ कृष्णनगर–चन्द्रौटा जिप चलाउने चालक सन्तोष क्षत्रीले भने, ‘जिप चलाउन गाह्रो भइरहेको छ ।’ ठूला खाल्डा र अग्ला ब्रेकरका कारण सवारीसाधनमा क्षति पुग्ने गरेको उनले गुनासो गरे । २५ मिनेटमा आउआज गर्न सक्ने बाटोमा अहिले झन्डै एक घण्टा समय लाग्छ । वर्षामा हिलाम्य र गर्मीमा धुलाम्य हुने हुँदा समस्या भइरहेको छ । यात्रु मात्र नभई स्थानीय पनि धूलोले आजित छन् ।कृष्णनगर–चन्द्रौटा बाटो बिग्रिएपछि सवारीसाधन चन्द्रौटा–हल्लानगर–सुन्दरी डाँडा हुँदै आरटीओ सडकबाट कृष्णनगरतर्फ बस चल्ने गरेका छन् । २० किमिको बाटो ३० किमि यात्रा गरेर आउजाउ गर्न यात्रुहरू बाध्य छन् । ‘यसले समय र भाडा दुवै बढाएको छ,’ कृष्णनगर बजार गरेर फर्केका दुलारे थारूले भने, ‘हामी सर्वसाधारणको दुःख र पीडा कसले सुन्छ ?’ धूलोले निसास्सिएर सास जाला जस्तो हुने, जोखिम र त्रासमा यात्रा गर्नुपरिरहेको उनले गुनासो गरे । सिल्ट मेटेरियल टेस्ट जेभीले कृष्णनगर–चन्द्रौटा बाटोको डिजाइन इस्टिमेटसहित डीपीआर बनायो । ‘डिजाइन इस्टिमेटअनुसार काम गर्दा ठेक्का सम्झौता रकममा ४७ प्रतिशत वृद्धि हुने भयो,’ दिनेशचन्द्र कालिका जेभीका प्रतिनिधि नवीन गुरुङले भने, ‘यसले समस्या पार्यो ।’भ्याटबाहेक ८० करोडमा बाटो बनाउन सम्झौता भयो । लागत बढ्ने भएपछि निकै समस्या आएको उनको भनाइ छ । भारत सरकारको सस्तो ब्याजको ऋणमा बाटो बन्न लागेको हो । नेपालको सरोकारवाला निकायले मात्र संशोधन गरेर हुने अवस्था थिएन । भारतको एक्जिम बैंकले लगानी गरेकाले उताबाट पनि स्वीकृति आउनुपर्छ । सरकारीस्तरबाटै पहल हुनुपर्छ । लामो प्रक्रिया हुँदा बजेट घटाउनेतिर लाग्दा यस्तो भयो । एउटै योजनामा रहेको कृष्णनगर बजारको ८ किमि सहरी सडक निर्माण हटाइयो । सडकको बीचमा ग्रिनरीका लागि बनाइने डिभाइडरको डिजाइन परिमार्जन गरियो ।एक मिटर उचाइ भएको र इँटाको डिभाइडर बनाउने इस्टिमेट थियो । त्यहाँ क्रंकिटको कर्ब स्टोन राख्न र डेढ फुट उँचा बनाउन थालिएको निर्माण कम्पनीका कन्ट्याक्ट म्यानेजर किशोर देवकोटाले बताए । ‘इँटाभन्दा ढुंगाको डिभाइडर सस्तो र बलियो हुन्छ,’ उनले भने, ‘त्यसले बजेट पनि घटाउँछ ।’ त्यस्तै नाली बनाउने काम पनि रोकेर बजेट घटाइएको छ । अब सम्झौता भएको रकममा १२ प्रतिशत मात्र बजेट बढ्ने बताइएको छ ।काम ४० प्रतिशत, भुक्तानी ३३ प्रतिशतजेठमा सकिनुपर्ने काम अहिले ४० प्रतिशत पूरा भएको छ । भुक्तानी ३३ प्रशित मात्र पाएको निर्माण कम्पनीका प्रतिनिधि नवीन गुरुङले बताए । ‘नयाँ बनाइएको इस्टिमेट डिजाइन र लागतअनुसार काम गर्दा रकम पाउने–नपाउने अन्योल हुन्छ,’ उनले भने, ‘त्यही भएर काम गर्ने–नगर्ने भन्ने दोधार हुन्छ ।’स्वीकृत नगराई काम गर्दा किन गरिस् भन्ने डर, नगरौं समय र लागत बढ्दै जाने गुरुङको भनाइ छ । २०७७ असारमा भेरिएसन अर्डर (भीओ) नयाँ इस्टिमेट डिजाइनअनुसार गरिएको कामको स्वीकृतिसहित भुक्तानी मागिएको थियो । एक वर्षपछि असारमा स्वीकृत भयो र भदौमा रकम दिइयो । काम गरेको झन्डै २० प्रतिशत रकम नपाउँदा काम गर्न गाह्रो भइरहेको उनले सुनाए ।‘यो रकम ४/५ दिनअघि मात्रै पाएको भए रुद्रपुर र जवाभारीमा ५ किमि कालोपत्र गरिसक्थ्यौं,’ गुरुङले भने, ‘अहिले वर्षाको समय छ । त्यही भएर काम सम्भव भएन ।’ हातले गर्ने धेरै काम सम्पन्न भइसक्यो । कालोपत्रको काम वर्षा र जाडोमा हुँदैन । असोजमा घाम लाग्यो भने गर्छौं र नभए फागुनयता कालोपत्रको काम हुँदैन, उनले भने । फागुनदेखि जेठ र असारसम्म कालोपत्रको काम गर्नु राम्रो मानिन्छ ।योजनाअन्तर्गत ३२ स्ल्याब कल्भर्ट, २० किमिसम्म दायाँबायाँ ७/७ मिटर माटो फिलिङ, डेढ मिटर चौडा र डेढ फुट अग्लो ३ किमि डिभाइडर र कालोपत्र बनाउन सबबेस बनाइएको छ । २१ मिटर चौडा बाटोमा १४ मिटर कालोपत्र हुन्छ । मुख्य काम कालोपत्र गर्नेछ । कृष्णनगर बजारमा दुई किमि बिजुलीको पोल र खानेपानीको पाइप हटाउन समस्या भइरहेको छ । ‘त्यसका लागि भीओ पठाएका छौं,’ उनले भने, ‘स्वीकृत भएर आएपछि हटाउँछौं ।’ नेपालतिरबाट स्वीकृत भइसकेको छ । भारत गएको छ, उताबाट आउनासाथ काम अघि बढाउने उनले सुनाए ।सडक सुधार विकास आयोजनाअन्तर्गत बजेट बढेर ८६ करोड लागतमा बाटो निर्माण हुन लागेको हो । सडक सुधार विकास आयोजना र एक्जिम बैंक भारतबीच सडक बनाउने सम्झौताअनुसार सडक निर्माण थालिएको हो । ठेक्का कालिका दिनेशचन्द्र जेभीले लिएको छ । कालिका नेपाली निर्माण कम्पनी हो । दिनेशचन्द्र जेभी भारतीय हो । नयाँ इस्टिमेट डिजाइन गर्दा समय लागेकाले ६ महिना र गत वर्षको कोरोना संक्रमणका कारण ६ महिना गरी एक वर्ष समय थपिएको छ । २०७९ असारमा सम्पन्न गर्ने लक्ष्य दिइएको छ । तर काम सक्न गाह्रो छ ।







