काठमाडौँ १८ असार // राजनीतिक, संवैधानिक र शैक्षिक क्षेत्रमा ब्याप्त प्रतिगमन र बेथितिका विरुद्ध आन्दोलनरत पाँच विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ।
आज पाँचवटै संगठनको संयुक्त बैठकले देशभर मसाल जुलुससहित प्रदर्शन गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
बैठकले असार १९ गते ७७ वटै जिल्लामा मसाल जुलुससहित प्रदर्शन गर्ने, २० गते प्रतिगमनका विरुद्ध विद्यार्थी आन्दोलनका पूर्व अध्यक्ष र नेताहरुसँग अन्तर्क्रिया गर्ने, २१ गते संविधान जोगाउन सबै जिल्लामा संविधानको प्रति प्रदर्शन गर्ने निर्णय गरेको छ।
यस्तै त्रिभूवन विश्वविद्यालयमा एमफिल पिएचडीमा बढाएको शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थीहरुको सङ्घर्षप्रति ऐक्यबद्धता जनाउँदै बढाइएको शुल्क तत्काल फिर्ता गर्न पनि विद्यार्थी संगठनको बैठकले माग गरेको छ।
रिइन्सुरेन्स कम्पनी दर्ता गर्दा सरकारले ब्यापक रुपमा चलखेल गरी ठूलो मात्रामा अनियमितता गरेको पाइएकाले त्यसको पनि तत्काल छानबिन गर्न माग गरिएको छ।
यस्तै चिकित्सा शिक्षा आयोगले लिने प्रवेश परीक्षामा प्रत्येक ७२ घण्टामा पटक–पटक पिसिआर टेस्ट गर्नुपर्ने प्रावधान हटाउन पनि विद्यार्थी संगठनहरुले माग गरेका छन्।
पाँचवटा सम्म परीक्षा दिने विद्यार्थीलाई पहिलोपटक गरिएको पिसिआर टेस्ट वा एन्टिजेन्ट टेष्टलाई मान्यता दिई परीक्षामा सामेल गराउन माग गरिएको छ।
बैठकले कोरोना कहरका विरुद्ध ज्यानको बाजी थापेर सबैभन्दा अग्रभागमा लडिरहेका स्वास्थ्यकर्मीहरुको सम्मानमा विद्यार्थी नेता डोजाङ् शेर्पाको नेतृत्वमा रत्नपार्कमा बनाइएको भित्तेचित्र मेटेर काठमाडौँ महानगरपालिकाले अत्यन्तै आपत्तिजनक कार्य गरेको भन्दै निन्दा गरेको छ।
यस आपत्तिजनक कार्यप्रति काठमाडौँका मेयर विद्यासुन्दर शाक्यलाई माफी माग्न पनि विद्यार्थी संगठनको बैठकले आग्रह गरेको छ।








