१८ बैशाख काठमाडौं– भारतमाथि अष्ट्रेलियाले यात्रा प्रतिबन्ध लगाएको छ। भारतबाट अष्ट्रेलिया फर्किने आफ्ना नागरिकलाई उसले पाँच वर्ष कैद र जरिवाना लगाउन सक्ने मापदण्ड बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
अष्ट्रेलियाको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार भारतबाट अष्ट्रेलिया पुगेकाहरुमा सङ्क्रमणको अनुपातलाई हेरेर उक्त निर्णय गरिएको हो।
गत साता मात्रै अष्ट्रेलियाले भारतसँगको सबै विमान अवतरणमा प्रतिबन्ध लगाएको थियो। भारतमा हाल करिब नौ हजार अष्ट्रेलियाली छन् ।
अष्ट्रेलियाली सञ्चारमाध्यमहरुका अनुसार घर फर्किँदा पहिलो पटक आफ्नै नागरिकलाई अष्ट्रेलियाले अपराधीको दर्जामा राखेको छ। सोमबारबाट उक्त मापदण्ड लागू हुँदैछ। १५ मेमा उक्त निर्णयको पुनरावलोकन हुने जनाइएको छ।
मापदण्ड बमोजिम निर्देशिका उल्लघंन गर्नेलाई पाँच वर्षको कैद सजाय वा ६६ हजार अष्ट्रेलियन डलरको जरिवाना वा दुबै सजाय हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैबीच अमेरिकाले पनि भारतलाई यात्रा प्रतिबन्ध लगाएको छ। ४ मेबाट लागू हुनेगरि अमेरिकाले भारतमाथि यस्तो प्रतिवबन्ध लगाएको हो।
भारतमा कोरोना संक्रमणको दर लगातार बढिरहेको छ र एक दिनमा चार लाख भन्दा धेरै मानिस संक्रमित भइरहेका छन्।
पछिल्लो एक हप्तामा मात्र दश लाख भन्दा धेरै मानिसमा संक्रमण पाइएको छ। अहिलेसम्म कोरोनाका कारण भारतमा २ लाख ११ हजर ७ सय ७८ जनाले ज्यान गुमाएका छन्।








