सप्तरी, फागुन २८ गते ।
सप्तरी प्रहरीले अपहरण मुद्दामा अदालतले सजाय सुनाइसकेका एक व्यक्तिलाई १० वर्षपछि पक्राउ गरेका छन् । छिमेकी युवक अपहरण गरी १३ लाख ५ हजार रुपैयाँ फिरौती लिएका छिन्नमस्ता गाउँपालिका १ का ४५ वर्षीय भोलेन्द्र यादवलाई उनकै घरबाट पक्राउ गरेको सप्तरीका प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए । यादवसहितको समूहले साविकको बरही वीरपुर गाविस ५ का १७ बर्षीय सञ्जीवकुमार साहलाई २०६७ साल कात्तिक २६ गते साँझ छठ पर्व मनाउन घाटतर्फ जाँदै गर्दा अपहरण गरेको थियो । उनीहरुले परिवारका सदस्यसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए । युवकको परिवारका सदस्यले १३ लाख ५ हजार रुपैयाँ फिरौती बुझाएका थिए अपहरित युवक हालसम्म बेपत्ता छन् । अपहरणसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७३ साल भदौ १५ गते यादवलाई ९ बर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । सभार टुडेपाटी ।







