सप्तरी २६ कात्तिक ।
धान काट्ने जनशक्तिको अभाव भएपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले निःशुल्क धानबालीको कटान सुरु गरेको छ । कोरोना भाइरसको महामारीका कारण धान काट्ने जनशक्ति नपाएर पाकेको धानबाली खेतमै झरेर नोक्सानी हुन सक्ने भएकोले किसानलाई सहुलियत दिन मंगलबारदेखि गाउँपालिकाले निःशुल्क धान काट्न थालेको हो । सहयोग गर्ने उद्देश्यले धानबाली निःशुल्क काटिदिने निर्णयमा पुगेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए । चार वटा मेसिन लगाई वडा नं ६ को मधेपुराबाट मंगलबारदेखी धानबालीको कटान थालिएको उनले बताए । एउटा वडामा दुई वटा मेसिनमार्फत धानबाली कटान गरिने र त्यसका लागि गाउँपालिकाका सबै किसानलाई खबरसमेत गरिएको उनको भनाइ छ ।

उनले भने, “कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न एकातिर हामी सबै लागेका छौं भने अर्कोतिर किसानले निकै लगानी र महिनेत गरी लगाएको धानबाली समयमै काट्न नसक्दा समस्या हुने देखेर गाउँपालिकाले निःशुल्क रुपमा कटान सुरु गरेको हो ।”

गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झाले गाउँपालिकाले चार वटा ट्याक्टर र चार वटा रिपर मेसिन खरिद गरी धानबालीको कटान सुरु गरेको बताए ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले गाउँपालिकाको ८ वटै वडामा गरी करिब एक हजार पाँच सय विघाभन्दा बढीमा लगाइएको धानबालीको कटानको खर्च गाउँपालिकाले ब्यहोर्ने र मेसिन लगाएर काटिने गहुँ सम्बन्धित किसानले आफै भित्र्र्याउने जानकारी दिए ।

तिलाठी कोइलाडी गाउँपालिका वडा नं ६ का खुशेश्वर यादव हर्षित हुँदै भन्छन्, “धान काट्ने जनशक्ति नपाइरहेको अवस्थामा गाउँपालिकाले सबै किसानको धान निःशुल्क काटिदिने निर्णय गरेपछि हामीलाई धेरै सहुलिय भएको छ ।”

यसअघि लकडाउनको कारण किसानको खेतमै रहेको गहुँबाली गत चैत महिनामा गाउँपालिकाले खर्च ब्यहोरेर कटान गरिदिएको थियो । सात सय विघाको गहुँबाली कटान गर्ने लक्ष्य लिएपनि करिब अढाई सय विघामा लगाइएको गहुँबाली कटान गरिएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here