सल्यान — मदन भण्डारी राजमार्ग अन्तर्गत बाग्चौर नगरपालिकाको बाग्चौर–पातिहाल्ना सडक खण्डमा पर्ने शारदा नदीमाथि निर्माणाधीन पक्की पुलको काममा ढिलासुस्ती भएको छ। निर्माण कम्पनीले कहिले निर्माण सामग्रीको अभाव, कहिले मूल्यवृद्धि र कहिले बाढीले सामग्री बगाएको कारण देखाउँदै काममा बेवास्ता गर्दा पुल निर्माण निर्धारित समयमै सम्पन्न हुन सकेको छैन। चार वर्षभित्र सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम पाँच वर्ष बितिसक्दा पनि करिब ७० प्रतिशत मात्र सम्पन्न भएको छ। ठेक्काको पहिलो म्याद २०८२ असारमा सकिएपछि दुई पटक म्याद थप गरिए पनि थपिएको अवधिमा समेत काम सम्पन्न हुने अवस्था देखिएको छैन। पूर्वाधार विकास कार्यालय सल्यानले २०७७ सालको अन्त्यतिर ठेक्का आह्वान गरेपछि प्राकृतिक निर्माण जेभीले ३ करोड ६२ लाख रुपैयाँमा पुल निर्माणको जिम्मा पाएको थियो। २०७८ असार ९ गते सम्झौता गरी सुरु गरिएको उक्त पुल २५ मिटर लामो रहेको छ।पुल निर्माण सम्पन्न नहुँदा वर्षायाममा बाग्चौर, कोटमौला र पातिहाल्नाका स्थानीयवासीले आवतजावतमा सास्ती भोग्दै आएका छन्।







