उनका अनुसार ऋणमा किसानहरुको पहुँच एकदमै कम भएको हुनाले सरकारले मौरी पालन व्यवसाय र व्यवस्थापनको लागि योजना धितोमा ऋण दिने व्यवस्था गर्ने हो भने भूमीहिन किसानहरुले पनि व्यवसाय विस्तार गर्न सक्छन् । यसको लागि स्थानीयदेखि प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराएको उनको भनाई छ ।
मेलाबाट करिब ५० लाखको कारोबारको लक्ष्य राखेका थियौ तर सहभागिता एकदमै कम भएका कारण लक्ष्य पूरा नहुने उनले बताए ।
यस्तै, नेपाल मौरी पालन केन्द्रीय सहकारी संघका अध्यक्ष जानुका थापाले सरकारले महको ल्याबटेस्ट गर्ने मेसिनसम्म पनि उपलब्ध गराउन नसक्नु दुःखद भएको भन्दै छिटोभन्दा छिटो ल्याब र मेसिन उपलब्ध गराउन आग्रह गरिन् ।
उनले भनिन्, ‘मेलामा स्टलका लागि मात्र १५ देखि २० लाख खर्च भएको छ । लगानी गरे अनुसार उठाउने आशा पनि गरेका छौ तर उपभोक्ताहरुको सहभागिता धेरै नै कम छ । प्रचारको अभावले गर्दा पनि यस्तो भएको हो । सबै किसानहरुलाई एउटै छानामुनि ल्याउनको लागि पनि मेला आयोजना भएको हो,’ उनले अगाडि भनिन्,‘आयात गरिएको महले नेपालमा उत्पादन हुने महलाई दबाएको जस्तो पनि लाग्छ । तर यसमा उपभोक्ताहरु सचेत हुनुपर्छ । सरकारले महको ल्याब टेस्ट गर्ने मेसिनसम्म पनि उपलब्ध गराउन सकेको छैन् । यो दुखद कुरा हो । त्यसैले छिटोभन्दा छिटो त्यो ल्याब र मेसिन ल्याउन आग्रह गर्न चाहन्छु ।’
मह व्यवसायी समेत रहेका किसान यम बहादुर अधिकारीले गुणस्तर मह उत्पादन गरेपनि अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन समस्या भएको दुःख व्यक्त गर्छन् ।
उनले नेपाल उच्च खालको प्रविधियुक्त ल्याब नभएको कारण यहाँ भएको ल्याबले परीक्षण गरेको मह बाहिर स्वीकार्य नहुने हुँदा बाहिर पठाउन समस्या भएको भन्दै सरकारले प्रविधियुक्त ल्याबको व्यवस्था गर्नुपर्ने माग पनि राखेका छन् ।
उनले भने, ‘गोरखा, चितवन, तनहुँ लमजुङ, काठमाडौंलगायत विभिन्न जिल्लामा मह विक्री हुन्छ । सरकारले भरपर्दो उच्च खालको प्रविधियुक्त ल्याब नभएको कारण यहाँ भएको ल्याबले परीक्षण गरेको मह बाहिर स्वीकार्य नहुने हुँदा विदेश पठाउन सकेका छैनौ । प्रविधियुक्त ल्याबको आवश्यकता छ ।’
अर्का व्यवसायी बसन्त पोखरेलले भारतीय महले बजार लिएको कारण किसानले उत्पादन गरेको मह विक्रीमा समस्या आएको भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने बताए ।
बाहिरबाट आएको मह मिसावटी, काँचो र महंगो हुने हुँदा नेपाली महको हुने भएकाले स्वदेशी महलाई प्रवद्र्धन आवश्यक रहेको उनले बताए । उनले भने, ‘प्यूठान, रोल्पा, अर्घाखाँची र कपिलवस्तुको मह काठमाडौंसम्म व्यापार हुन्छ । विदेशसम्म आयात गर्ने प्रयासमा छौ । महको व्यापार राम्रो नै छ,’ उनले अगाडि भने,‘हाल भारतीय महहरु बजारमा आइरहेका छन् । ती महहरुमा मिसावट हुन्छ । यसमा उपभोक्ता सतर्क हुनुपर्छ । यसलाई सरकारले पनि ध्यान दिनुपर्छ ।’
१० वर्षदेखि महको व्यवसामा लागेका किसान तरुण खड्काले नेपालमा मौरी पालनको सम्भावना भएपनि बजारको अभाव भएको गुनासो गरे । उनका अनुसार सरकारले बाहिरको महलाई गुणस्तर हेरेर थोरै मात्र विक्री गर्न दिने हो भने नेपालको महले बजार पाउछ सक्छ ।
अर्का व्यापारी सिजन रेग्मीले भने आफ्नो महको ब्राण्ड अन्तर्राष्ट्रिय स्तरमा विक्री भइरहेको सुनाए । उनले उत्पादन गरेको मह ४० वटा देशहरुमा पुगेको दावी गरे ।
काठमाडौंमा आयोजित मेला नेपाल मौरीपालक महासङ्घ, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेड र व्यावसायिक किट विकास केन्द्रको संयुक्त आयोजनामा भएको हो ।
मेलाको सहआयोजकमा मौरी विकास केन्द्र गोदावरी, मौरीपालन विकास केन्द्र भण्डारा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवन, जिम्याप नेपाल रहेका छन् ।








