दानबहादुर बुढा
मुगु । जुम्लाको गुठिचौर गाउँपालिका–२ को झुलेनी भन्ने ठाउँमा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरेका छन् । शनिबार साँझ ५ बजे रुखमुनि बसेका बेला चट्याङ पर्दा ती भेडाबाख्रा मरेका हुन् ।
गुठिगाउँका किसान हिरबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका पाँचवटा भेडाबाख्रा चट्याङमा परेर मरेको गुठिचौर–२ का पूर्ववडाध्यक्ष तथा स्थानीय धनबहादुर बोहोराले बताए ।
घरमा ल्याउन रुखमुनि जम्मा गरी राखिएको अवस्थामा चट्याङ परेको थियो । हिरबहादुरका ५० वटा र धनकृष्णका ३० वटा भेडाबाख्रा छन् । उनीहरूको घरखर्च भेडाबाख्राबाटै चल्ने गरेको छ ।
चट्याङमा भेडाबाख्रा मरेपछि किसानहरू दुःखी भएका छन् । गुठिगाउँमा रहेका १७५ घरधुरीमध्ये एकसय भन्दा बढी परिवारले भेडाबाख्रा पाल्ने गरेका छन् ।
गाउँमा करिब ३,५०० भेडाबाख्रा रहेको बोहोराले बताए । उनका अनुसार एउटा भेडाबाख्राको मूल्य कम्तीमा १० हजारदेखि अधिकतम २५ हजार रुपैयाँसम्म पर्नेगर्छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ गुठिचौरको पूर्वी क्षेत्र हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति हुने गरेको कार्यालयले जनाएको छ ।
भेडाबाख्रा चट्याङबाट मरेपछि घरखर्च चलाउन समस्या भएको किसानहरूले बताएका छन् । किसान हिरबहादुर ऐडीले भने, ‘यो पेसाबाट घरखर्चदेखि छोराछोरीको पढाइ खर्च सहज रूपमा चलेको थियो ।’
गुठिचौर–२ का वडाध्यक्ष दीपबहादुर ऐडीले स्थानीय सरकारबाट सम्भव हुने सहयोग गरिने बताए। वडामा रकम नभएकाले गाउँपालिकाको विपद् शाखामा कुरा राख्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here