काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई समुदायस्तरीय संघसंस्थाहरुले विश्व नेताका रुपमा सम्मान गरेका छन् ।
उपप्रमुख डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन हुनुले ज्यापु समुदायको विश्वस्तरमा गौरव बढेको भन्दै काठमाडौँको खुशिँवुमा रहेको ज्यापु संस्कृति विकास कोष, ज्यापु महागुथि नेपाः केन्द्रीय समिति र ज्यापु महागुथि नेपाः ये महानगर समितिले संयुक्त रुपमा सम्मान प्रदान गरेका हुन् ।
सम्मान ग्रहण गर्दै उपप्रमुख डंगोलले, काठमाडौंको मौलिक पहिचानलाई संरक्षण र प्रवर्धन गर्न इमान्दारितापूर्वक काम गरिरहने प्रतिवद्धता व्यक्त गरिन् । राजनीतिक नेतृत्व र आफूले गरिरहेका कामका बारेमा उल्लेख गर्दै उनले भनिन्, ‘म राजनीतिक पृष्ठभूमि भएको परिवारको सदस्य होइन । मेरो परिवारमा कसैले पनि राजनीति गर्नुहुन्न । म पनि सामाजिक र सांस्कृतिक क्षेत्रको उत्थानका लागि समुदायमा काम गरिरहेकी थिएँ । यसरी काम गरिरहँदा सामाजिक तथा सांस्कृतिक रुपान्तरण र मौलिकता प्रवर्धनका लागि राजनीतिक नेतृत्वमा पुगेर नीतिमार्फत काम गर्न सकिन्छ भन्ने अनुभूति भयो । यसपछि म समुदायकै हौसला र प्रेरणाले राजनीतिमा आएकी हुँ । विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौं हवको सदस्य हुँदै विश्व स्तरीय मञ्चमा ४० वर्ष उमेर समूहमुनिका नेताका रुपमा चयन भएपछि मैले थप जिम्मेवारी महसुस गरेकी छु ।’
उनले समुदायबाट प्राप्त सम्मानले लक्ष्यप्रति थप आँट र हौसला प्राप्त भएको भन्दै जनस्तरको अपेक्षालाई इमान्दारितापूर्वक वहन गर्ने प्रतिवद्धता जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here