रामेछाप । मन्थली नगरपालिका–६ की पार्वती माझी दिनभरि पुरुष मजदुरसँगै काम गर्छिन् ।
पार्वती पुरुषसँगै बालुवा बोक्ने, ढुङ्गा बोक्ने काम गर्छिन् । उनले बोक्ने भारी पुरुषको भन्दा काम छैन । उनीहरू सरह नै काम गर्छिन् ।
भारी बोक्ने मात्र होइन सिमेन्ट, बालुवा मोल्ने र प्लास्टर गर्ने काम पनि पार्वती पुरुष सरह नै गर्छिन् । निर्माणको काममा जे प¥यो त्यही काम गर्छिन् । तर पनि उनले पाउने ज्याला पुरुषको सरह छैन ।
दिनभरि सँगै काम गर्दा पनि उनले ज्याला भने पुरुषको भदा कम पाउँछिन् । ‘दिनभरि पुरुष सरह खटेर काम ग¥यो, उनीहरूले १२ सय ज्याला पाउँदा हामी महिलाले ८ सय मात्रै ज्याला पाउँछौँ, काम बराबर हो तर ज्याला भने कम छ’, उनले भनिन् ।
मन्थली नगरपालिका– २ की मैयाँ सार्कीको पनि कथा त्यस्तै छ । दिनभरि पुरुषसँगै दाँजिएर काम ग¥यो, साँझ ज्याला बुझ्ने बेलामा भने फरक व्यवहार । सँगै काम गर्ने पुरुषहरूले १२ सयदेखि १५ सयसम्म पाउँदा महिलाहरूले भने ८ सयदेखि १ हजार रुपैयाँसम्म ज्याला पाउँछन् ।
‘हाम्रो ठाउँमा मात्र होइन, जिल्ला भरिकै महिला कामदारको समस्या हो यो, सरकारी जागिर भए पो बराबरी ज्याला पाउनु, बाहिर काम गर्दा यस्तै हो, पुरुषले बढी ज्याला पाउँछन्, महिलालाई भने कम ज्याला छ’, उनले भनिन् ।
कानुनी रूपमा समान कामको लागि समान ज्यालाको व्यवस्था भए पनि अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले अहिले पनि समान काममा समान ज्याला पाउन सकेका छैनन् । केही वर्ष अघि सरकारी क्षेत्रबाट काम लगाउँदा समेत महिला र पुरुष बिच ज्यालामा विभेद थियो । अहिले सरकारी क्षेत्रबाट सञ्चालन हुने काममा समान ज्याला दिन थालिएको छ ।
तथापि विभिन्न निर्माण व्यवसायी तथा व्यक्तिले लगाउने काममा अहिले पनि महिला र पुरुषको बिचमा ज्यालामा समानता छैन् । जसले गर्दा महिलाहरू श्रम शोषणमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here