नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजीपी बसन्त कुवरले जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवन तथा अन्य भौतिक संरचनाहरूको उद्घाटन गरेका छन् । सोमबार एक विशेष समारोहका बीच प्रहरी महानिरीक्षक कुवँरले कार्यालयको प्रशासनिक भवनसहित विभिन्न पूर्वाधारहरूको उद्घाटन गरेका हुन् । समारोहका क्रममा जिल्ला प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवन, ब्यारेक, हिरासत कक्ष, सैलुन, चमेना गृह तथा स्वागत कक्षको समुद्घाटन गरिएको थियो । प्रहरी सेवाको प्रभावकारिता बढाउन र प्रहरी कर्मचारीलाई सहज वातावरण प्रदान गर्नका लागि अत्याधुनिक सुविधासहितका यी संरचनाहरू निर्माण गरिएको बताइएको छ ।उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक कुवरले प्रहरी संगठनको सुदृढीकरणमा भौतिक पूर्वाधारको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै नागरिकमैत्री सेवा प्रवाहमा तीव्रता ल्याउन निर्देशन दिए । उनले प्रहरी सेवाको आधुनिकीकरणसँगै समुदाय प्रहरी साझेदारीलाई प्रभावकारी बनाउनु आवश्यक रहेको बताए । यस अवसरमा आईजीपी कुवरले प्रहरी कार्यालय परिसरमा वृक्षरोपण समेत गरे । हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणका लागि वृक्षरोपण कार्यक्रमलाई प्रहरी संगठनले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले प्रहरी कार्यालय परिसरलाई हरित क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको बताए ।उद्घाटन कार्यक्रममा स्थानीय प्रशासन, जनप्रतिनिधिहरू, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो । नयाँ संरचनाहरूको निर्माणले प्रहरी सेवाको प्रभावकारिता वृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ ।








