सरकारले ‘झापा विद्रोह’ का पाँच सहिदको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । तत्कालीन ‘झापा विद्रोह’ का पाँच सहिदको स्मृति दिवसका दिन हुलाक सेवा विभागले पाँच सहिदको सम्मानमा प्रकाशन गरेको हुलाक टिकहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेको हो ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हुलाक टिकटमा प्रथम दिवसिय टाँचा लगाएका थिए । सो क्रममा सभामुख घिमिरेले मुलुकको परिवर्तनका लागि योगदान दिएका सहिदको सपना पुरा गर्न सबै गम्भीर हुनुपर्ने बताए ।
उनले भने, ‘राजनीतिक क्षेत्रमा प्राप्त गरेका उपलब्धिमा सहिदहरुको योगदान महत्वपूर्ण छ, आफ्नो ईतिहासमा राजनीतिक क्षेत्रमा नेपालले प्राप्त गरेका उपलब्धिमा सहिदहरुका योगदान के हुन ? र तिनीहरुका अधुरा सपना पूरा गर्ने जिम्मेवारी के हो ? यो कुरालाई अब हामीले अगाडि लानुपर्छ ।’
साथै, उनले जनताको मुक्तिका लागि जीवन अर्पण गर्ने धेरै सहिदहरुभित्र पाँच जना सहिदहरुको हुलाक टिकट प्रकाशन हुनु निकै महत्वपूर्ण भएको बताए । सभामुख घिमिरेले सहिदहरुको योगदानका कारण मुलुकमा राजनीतिक उद्देश्य सफल भएपनि समाज रुपान्तरणमा भने धेरै चुनौतिहरु देखा परेको धारणा राखे ।
उनले भने, ‘हुलाकको टिकट पहिलो टाँचाको रुपमा लगाएर प्रकाश गर्दाखेरि यो एउटा कागजको टुक्रा बाहिर ल्याएको छ । तर यो नेपाली जनाताहरुको मुक्तिको लागि आफ्नो जीवन अर्पण गर्ने, नेपालीहरुको समृद्दि र सुविधाका लागि आफ्नो जीवन अर्पण गर्नु हुने र मान्छेले स्वतन्त्र भएर बाच्न पाउनुपर्छ भनेर राजनीतिक हकअधिकार र प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको लागि आफ्नो ज्यान आहुती दिने सहिदहरुको हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नु सबैभन्दा ठूलो कुरा हो ।’
Home मुख्य समाचार मुलुकको परिवर्तनका लागि योगदान दिएका सहिदहरुको सपना पुरा गर्न सबै गम्भीर हुनुपर्छ...








