महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर शाह सुडी नेपाल दक्षिण एशियामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अधिकार सुरक्षित गर्ने अग्रगामी राष्ट्रमध्ये एक भएको बताएका छन् ।
काठमाडौंमा सुरु भएको इल्गा एसियाको १० औँ सम्मेलनलाई वुधबार सम्बोधन गर्दै समान लैङ्गिक सम्बन्धलाई अपराधीकरण नगर्ने, कानुनी पहिचानको विषयलाई संवैधानिक रूपमा सम्बोधन गर्ने साथै समुदायका सदस्यहरूको समावेशीकरणलाई सुनिश्चित गर्ने अग्रणी मुलुक भएको पनि बताए ।
‘नेपालले समावेशी लोकतन्त्र को आधारशीला बलियो बनाउँदै, मानव अधिकारलाई मौलिक हकको रूपमा स्थापित गर्दै, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अस्तित्व, पहिचान, र समान अवसर सुनिश्चित गर्न महत्वपूर्ण पाइला चालेको छ। नेपालको संविधान २०७२ जसले संविधानमै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अधिकार प्रत्याभूत गरेको छ । जसमा संविधानको धारा १२ पहिचानसहितको नागरिकताको हक, संविधानको धारा १८ – विभेदरहित समानताको हक, संविधानको धारा ४२ – समावेशी सिद्धान्तको आधारमा पछाडि पारिएका समुदाय लाई सामाजिक न्यायको सिद्धान्तअन्तर्गत समुदायका हकहरूको प्रत्याभूति गर्नु पनि रहेको छ । तर, पूर्ण रूपमा कार्यान्वयन बनाउन अझै धेरै गर्न बाँकी छ । कानुनी अधिकार कार्यान्वयन, परिवार तथा समाजमा स्वीकार्यता, र भेदभाव तथा हिंसाबाट पूर्ण सुरक्षा सुनिश्चित गर्न थप प्रयास आवश्यक छ,’ उनले भने ।
साथै मन्त्री साहले नेपाल सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यकसमुदायका लागि राष्ट्रिय बजेट विनियोजन गरी समावेशी नीति निर्माणलाई सुदृढ बनाउने काम गरिरहेको साथै राष्ट्रिय जनगणनाको चरणमा समुदायको समावेशीकरण भइसकेको जानकारी गराए ।
उनले नीति तथा कानुनी संरचनालाई अझ प्रभावकारी बनाउन, मानव अधिकारको रक्षा मात्र होइन, समावेशी नीतिहरूको प्रभावकारी कार्यान्वयन पनि सुनिश्चित गर्ने पनि उनले प्रतिवद्धता जनाए । सरकार मानव अधिकार, समानता, र समावेशी समाज निर्माण गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।
कार्यक्रममा आयोजक संस्था ब्लु डाइमन्ड सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले नेपालमा समुदायका व्यक्तिहरुले कानुनी अधिकार प्राप्त गरिरहेको भएपनि कार्यान्वयनमा जटिलता रहेको औंल्याइन् ।
उनले समलिंगी विवाह र नागरिकता लिनका लागि अझै झन्झटिलो प्रक्रिया रहेको जानकारी दिइन् । इल्गा एसियाका कार्यकारी निर्देशक हेनरे क्योले नेपालमा सम्मेलन गर्न पाउँदा खुशी जनाउँदै अधिकारका सवालमा सामूहिक प्रयास आवश्यक रहेको बताए ।
मिति २०८१ फागुन १२ गतेदेखि १६ गतेसम्म नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय लैंगिक तथा यौनिक अल्पसंख्यक समूदायहरुको सम्मेलनमा एसिया प्रसान्त भरीका करिब पाँच सय यौनिक तथा लैङ्गिक अल्पसंख्य समूदायका व्यक्तिहरुको सहभागिता छ । ‘विविधता गतिशिलताः न्यायसंगत, समावेशि र दिगो एसिका लागि एकता’ नारा तय गरी जारी सम्मेलनमा एल्गाको नयाँ कार्यसमिति समेत चयन गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here