प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।
शनिवार सेना दिवसका अवसरमा सैनिक मुख्यालय खेल मैदानमा उक्त प्रतियोगिता भएको थियो भने प्रतियोगितामा कूल तीन सय तीन धावक सहभागी भएका हुन् ।
यस प्रतियोगिता अन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम भएका छन् । उनलाई रक्षामन्त्री मानवीर राईले तीन लाखसहित ट्रफी र पदक प्रदान गरेका छन् ।
यसैगरी कुमारी दल गणका प्युठ राजन रोकाय दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका गोपीचन्द्र पार्कीले तेस्रो स्थान हासिल गरे । उनीहरुले क्रमश ः दुई लाख र एक लाख नगदसहित पदक र प्रमाणपत्र पाए ।
त्यस्तै, २१ किलोमिटर दूरीको हाफ म्याराथन खुला पुरुषतर्फ देवी दल गणका प्युठ मुकेश पाल प्रथम, शेर गण दलका अमलदार गजिन्द्र राई द्वितीय तथा गणेश दल गणका अमलदार नरेन्द्र रावल तृतीय भए । उनीहरुलाई प्रधानसेनापति अशोकराज सिग्देले क्रमशः रु ७५ हजार, ५० हजार र ३५ हजार नगदसहित प्रमणपत्र प्रदान गरे ।
महिलातर्फको २१ किमी दूरीको हाफ म्याराथन प्रतियोगितामा सन्तोष श्रेष्ठ पहिलो, भगवती दल गणकी प्युठ पूर्ण लक्ष्मी न्यौपाने दोस्रो तथा गरुढ दल गणकी प्युठ निर्मला केसी तेस्रो भएका छन् । उनीहरुलाई पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले क्रमशः रु ७५ हजार, ५० हजार र ३५ हजार नगद र प्रमणपत्र प्रदान गरेका छन् ।
सेनाका महिला अधिकृततर्फको १० किमी दूरीको दौडमा उपसेनानीत्रय जिना गुरुङ, कुसुम तामाङ र अस्मिता जीसी क्रमश ः प्रथम, द्वितीय र तृतीय भए । त्यस्तै सैनिक महाविद्यालय तथा विद्यालय र राष्ट्रिय सेवा दलका कक्षा १० देखि १२ कक्षासम्म अध्ययन छात्रतर्फ चाणक्य माध्यामिक विद्यालयका विश्वराज कुँवर, सैनिक आवासीय महाविद्यालयका अमित थिङ र राष्ट्रिय सेवा दलका छात्र सुजित मगरले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरेका छन् । यो प्रतियोगिता विसं २०७२ देखि निरन्तर हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here