नेपालको पत्रकारिता क्षेत्रमा करिब दुई दशक योगदान गरेका स्वर्गीय कमलराज राईको स्मरणमा नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले ‘कमलराज राई स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ ।
यस पुरस्कार स्थापना एवं व्यवस्थानका लागि नेपाल पत्रकार महासंघ काठमाडौं शाखा र पुरस्कार कोष निर्माणार्थ गठित अक्षयकोष निर्माण समितिबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्याल र अक्षयकोष निर्माण समितिको तर्फबाट समितिकी संयोजक एवं स्व. पत्रकार कमराज राईकी धर्मपत्नी लालसरा राईले हस्ताक्षर गरेका हुन् ।
यस पुरस्कारका लागि समितिको तर्फबाट संयोजक राईले नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी अध्यक्ष अर्याललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेकी छन् ।
सम्झौतापत्रअनुसार ‘कमलराज राई स्मृति पत्रकारिता पुरस्कार’ कोषको व्यवस्थापन सञ्चालनको सम्पूर्ण कार्य नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गर्नेछ ।
उक्त कोषको मूल पुँजी रकम खर्च नगर्ने र ब्याजबापत आउने ७५ प्रतिशत रकमबाट काठमाडौं शाखाको प्रत्येक तीन वर्षमा हुने अधिवेशनका अवसरमा एक जना क्रियाशील पत्रकारलाई पुरस्कार प्रदान गरिनेछ ।
पुरस्कारका लागि पत्रकार छनोट गर्ने कार्य महासंघ काठमाडौं शाखाले आफ्नो कार्यविधिबमोजिम स्वतन्त्ररुपमा गर्नेछ । कोषमा भएको मूल पूँजीबाट आउने व्याजमध्ये ७५ प्रतिशत पुरस्कारमा खर्च गरी र बाँकी २५ प्रतिशत सोही कोषमा जम्मा गर्दै जाने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।








