मधेश प्रदेश सरकारको कार्यक्रम ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा विकासकुमार ठाकुर नियुक्त भएका छन् ।नेपाल फाउन्डेसनको संस्थापक भएर पर्यटन प्रवर्द्धनमा योगदान गर्दै आएका सर्लाही निवासी ठाकुरलाई मधेश प्रदेश सरकारले मधेशको पर्यटन प्रवर्द्धनको अभियान सञ्चालनको संयोजन गर्ने जिम्मेवारी दिएको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल मियाँले ठाकुरलाई नियुक्त पत्र प्रदान गरेका छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कुमार कर्णकाअनुसार मधेश प्रदेश सरकारले पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।

यसैअन्तर्गत महत्वाकांक्षी सरकारी कार्यक्रम ‘घुमौँ मधेश, बुझौँ मधेश’ घोषणा गरी संयोजकमा ठाकुरलाई नियुक्त गरिएको कर्णले बताए । ‘मधेश तन्नेरी आँट, सङ्कल्प र क्रियाशीलताको पर्खाइमा छ । हामीलाई विश्वास छ, ठाकुरजीले लगनशील भएर सार्थक परिणामको रूपरेखा कोर्नेछन्,’ उनले भने ।

संयोजक ठाकुरले मधेश प्रदेशलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यहाँका पर्यटकीय स्थलको प्रवर्द्धन गर्न सक्रिय रूपमा लाग्ने बताए । ‘अहिले हाम्रो सम्मुखमै जनकपुरमा विवाह पञ्चमी छ । बारामा गढीमाई मेला छ । यी पर्वलाई अझै व्यवस्थित र व्यापक प्रचारप्रसार गर्ने काम हुन्छ । समग्र मधेश प्रदेशलाई कसरी पर्यटनमा अगाडि लान सकिन्छ भनेर काम गर्छौं,’ उनले भने ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here